• ११ मंसिर २०८१, मङ्गलबार

स्थानीय तहले विवरण नपठाएपछि कित्ताकाट रोकियो

blog

बिष्णुप्रसाद पोखरेल

दमक, भदौ २६ गते । बारम्बारको पत्रलाई बेवास्ता गरेको भन्दै नापी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्रका पालिकाहरूको कित्ताकाट रोक्का गरेको छ । झापाको दमक नगरपालिका सहितका पालिकाहरूको कित्ताकाट रोकेको हो ।

स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण नक्सा तथा कित्ताकाट विवरण पालिकाहरूले नपठाएपछि बाध्य भएर जग्गाको कित्ताकाट रोक्नु परेको प्रमुख नापी अधिकृत शत्रुघ्नप्रसाद यादवले बताउनुभएको छ । मंगलबारबाट लागु हुने गरी अर्को सूचना नभएसम्मका लागि कित्ताकाट स्थगित गरिएको सूचना नापी कार्यालय दमकले सूचना पाटीमा टाँस गरेको छ।

भू–उपयोग वर्गीकरण सम्बन्धमा अधुरो कार्य सम्पन्न गरेर कित्ताकाटमा सहजता ल्याई दिन बारम्बार आफूहरूले आग्रह गरेको नापी कार्यालय दमकका प्रमुख यादवले बताउनुभएको छ । यसबाट दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको कित्ताकाट रोकिएको छ ।

नापी कार्यालयका अनुसार नेपाल राजपत्र भाग ३ खण्ड (७३) सङ्ख्या २४ मिति २०८० साउन ३२ मा प्रकाशित भू–उपयोग नियमावली २०८० (पहिलो संशोधन), २०८० को नियम १२ उपनियम (४ ख) बमोजिम भू–उपयोग क्षेत्र नक्सा तथा विवरणमध्ये कुनै एक भू–उपयोग क्षेत्र वा विवरण अद्यावधिक गर्न बाँकी रहेको भएता पनि वर्गीकरण भएको क्षेत्रमा यस नियमावलीको अधीनमा रही कित्ताकाट गर्न सकिने उल्लेख भएकाले यसभन्दा अघि कित्ताकाट रोकिएको थिएन । 

उल्लेखित उपनियम प्रारम्भ भएको मितिले १ वर्षभित्र त्यस्तो वर्गीकरण भएको क्षेत्रको भू–उपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधिक गरिसक्नु पर्ने उल्लेख रहेकाले अहिले रोक्नु परेको पनि नापी कार्यालय दमकले जनाएको छ ।