• ११ मंसिर २०८१, मङ्गलबार

आत्महत्याका घटना बढ्दै

blog

रेखीराम राना

तानसेन, भदौ २५ गते । बढ्दो आत्महत्या न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम हुन सकेका छैनन् । हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि भएपनि सरोकारवाला पक्षले यस्ता घटना न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम गर्न सकेका छैनन् । 

आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । पाल्पामा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ । अघिल्लो वर्षको तुलनामा गत आव २०८०-०८१ मा आत्महत्या गर्ने बढेका प्रहरीको तथ्याङ्कमा छ । घरायासी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, प्रेममा वियोग लगायतका कारणले आत्महत्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

अघिल्लो आव २०७९-०८० मा जिल्लाभर ६७ जनाले आत्महत्या गरेकामा गत आव २०८०-०८१ मा ८८ जनाले आत्महत्या गरेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । अघिल्लो आवको तुलनामा २१ जना बढीले आत्महत्या गरेका उहाँले जानकारी दिनुभयो । तुलनात्मक रुपमा ४० वर्ष माथिका मानिसले बढी आत्महत्या गर्ने गरेका छन् । 

गत आवमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जबकी अघिल्लो आवमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए। ४० वर्षभन्दा माथि आत्महत्या गर्ने मानिस दीर्घरोगी, पारिवारिक समस्यामा रहेका, डिप्रेसनका औषधी सेवन गरेका रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गरिवीका कारण पारिवारिक समस्यामा परेका मानिसले पनि आत्महत्याको बाटो रोजेको पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो। आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउदा आत्महत्या गरेको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । लुम्विनी प्रदेशमै पाल्पामा आत्महत्या गर्ने दर उच्च छ । 

पछिल्लो समय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छ । गत आव २०८०-०८१ मा सात जना बालबालिकासहित किशोर–किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो सङ्ख्या अघिल्लो आवको तुलनामा चारले बढी हो । 

मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा पनि आत्महत्या बढेको छ । समस्यामा परेको बेलामा उचित सल्लाह र साथ नपाएपछि आत्महत्या गर्ने गरेको जानकारहरूको भनाइ छ । एक्लै बस्ने प्रचलन, एकको पीरमर्का अर्कालाई नभन्ने प्रवृत्ति बढेकाले पनि आत्महत्याको दर बढेको त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक सन्तोष खनालले बताउनुभयो । 

राज्यको कुनै निकायले जिम्मेवार भएर आत्महत्या न्युनीकरणमा काम गर्नुपर्ने उहाँको भनाइ छ । प्रहरी र केही स्वास्थ्य सम्बद्ध संस्थाले आत्महत्या न्यूनीकरणका लागि सानो अभियान गरेपनि त्यसले खासै प्रभाव पार्न नसकेको उहाँले बताउनुभयो ।