• १० मंसिर २०८१, सोमबार

राष्ट्रिय नाटक महोत्सव हुने

blog

काठमाडौँ, भदौ २५ गते । हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठानले प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव गर्ने भएको छ । भदौ ३० गतेदेखि सुरु हुने तिनदिने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने जनाइएको छ । 

प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । नेपाली मौलिक रङ्गमञ्चको खस्कँदो अवस्थालाई पुनर्जीवन दिने उद्देश्यसहित सो नाटक महोत्सव गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ ।

संस्थाका सदस्यसचिव सम्राट सापकोटाका अनुसार प्रतियोगिताका लागि प्राप्त ३२ नाटकमध्ये छ वटा छनोट गरिएको छ । राष्ट्रिय नाचघरमा प्रदर्शन गरिने नाटकमध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेतृलाई पनि जनही १५ हजार रुपियाँसहित पुरस्कृत गरिने छ । 

गायक तथा रङ्गकर्मी हरिप्रसाद रिमाल रेडियो नेपालका प्रथम गायकका रूपमा समेत परिचित हुनुहुन्छ । उहाँको जन्मशताब्दी वर्षसमेत भएकाले रङ्गकर्म क्षेत्रमा व्यक्तित्वलाई ‘शताब्दी स्मृति सम्मान’ समेत प्रदान गरिने जनाइएको छ । 

रिमालका ज्येष्ठ सुपुत्र अरुणप्रसादले नेपाली मौलिक नाटक मञ्चन कम हुँदै गएको अवस्थामा त्यसलाई पुनर्जागरण ल्याउन नाटक महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।