• १२ पुस २०८१, शुक्रबार

बिपीले ओमप्रसाद थकालीलाई लेख्नुभएको पत्र

blog

काठमाडौँ, भदौ २४  गते । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर सोमबार मनाइएको छ । प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको वि.सं. १९७१ भदौ २४ गते जन्म भएको थियो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । वि.सं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । वि.सं. २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनः स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्बाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । क्यान्सर रोगले बिपीको वि.सं. २०३९ साउन ६ गते निधन भएको हो ।

प्रस्तुत छ बिपीले ओमप्रसाद थकालीलाई  २०१३ साल पुस, १० गते लेख्नुभएको पत्र :

प्रिय साथी ओमप्रसादजी,

देशको परिस्थितिका सम्बन्धमा मैले तपाईँलाई विशेष केही लेखिरहनु पर्दैन । नेपालको व्यवस्था अत्यन्त नाजुक छ । क्रान्तिपछि जुन शक्तिको उदय भएको थियो । त्यो शक्तिलाई कसैले अज्ञानताले, कसैले स्वार्थले दबाउने प्रयत्न गरी रहे जसले गर्दा देशले जुन उन्नति गर्नुपर्थ्यो, त्यो गर्न सकेन । अहिलेको जमानामा क्रान्तिपछि आएको विचार र सिद्धान्तको आधारमा मात्र देशले अगाडि पाइला चाल्न सक्छ । पुरानो दरबारिया स्वार्थको आधारमा उन्नति सम्भव छैन । नेपाली कांग्रेस क्रान्तिको प्रतीक र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको कमजोरी ! यो सत्यलाई हामी सबैले राम्ररी बुझ्नुपर्छ । सानोतिनो स्वार्थ पूर्तिको लागि हामी लाग्नथाल्यौँ भने यो सानोतिनो स्वार्थका आधारमा बनेका विभिन्न पार्टीहरूलाई हामीले स्थान दिन थाल्यौँ भने देशले उन्नति गर्न सक्दैन । चुनावको दिन पनि आउँदै छ । चुनाव प्रजातन्त्रको मुख्य ध्यान हो । यस समाजको राम्ररी प्रयोग जनताले गर्नुपर्छ । नत्र भने नेपालको भविष्य धमिलिने डर हुन्छ । यस सत्यलाई राम्ररी बुझेर चुनावको तयारी गर्नुपर्छ । चुनावमा स्वार्थी व्यक्तिहरूलाई मौका दिनु हुँदैन । कति कांग्रेसीको मुखबाट यो चिन्ताजनक कुरा सुनिन्छ कि यदि चुनावमा कांग्रेसले भाग लिने अनुमति दिएन भने स्वतन्त्र भएर लड्छौँ । यदि कांग्रेसलाई एउटा व्यक्तिगत स्वार्थ साधनको निम्ति बनाउन कोही लाग्दछ भने हामीले त्यसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ । हामी सबैले निःस्वार्थी सेवा व्रत लिनुपर्छ । गेरुवा रङ्गको लुगा नलगाएर पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारणा गर्नुपर्छ । कुनै ठुलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवा भाव हुनुपर्छ । यदि साधारण अवस्थामा रहनुपरेमा पनि दुःखी भएर उही सेवाभाव मनमा रहनुपर्छ । यति कुरा गर्न सक्यौँ भने देशलाई हामीले माथि लैजान सक्छौँ । अरू के लेखौँ । साथीहरूलाई मैले प्रष्ट लेखेको यस कुरालाई सबै साथीहरूलाई पनि सुनाइदिनुहोला ।

 साथी विश्वेश्वरप्रसाद कोइराला