• २ माघ २०८१, बुधबार

पन्ध्र हजार बिरामीलाई सेवा

blog

तस्बिर : गोरखापत्र

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ २४ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१० मा सञ्चालित सहिद स्मृति नगर अस्पतालबाट एक वर्षमा १५ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् ।  आर्थिक वर्ष २०८०/८१ मा यस अस्पतालबाट १५ हजार २२६ जनालाई सेवा दिइएको अस्पतालले जनाएको छ । 

गाउँमै अस्पताल सञ्चालन भएपछि सेवा लिने बढिरहेको अस्पतालको भनाइ छ । अस्पताल प्रशासक विश्वप्रकाश ओलीका अनुसार गाउँमै डाक्टरसहितको स्वास्थ्य सेवा पाएपछि सर्वसाधारणलाई सहज भएको छ भने सेवा लिन आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ । गत वर्ष नगर अस्पतालमा ३१२ जनाको माइनर सर्जिकल गरिएको थियो भने १०२ जना सुत्केरी भएका थिए । अस्पताल प्रशासक ओलीले पाँच शय्याको यस अस्पतालमा दैनिक सात जनाभन्दा बढी बिरामी भर्ना हुने गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार गत वर्ष एक हजार ८७८ जनाले एक्सरे सेवा लिएका छन् भने छ हजार ८३८ जनालाई ल्याब सेवा दिइएको छ । त्यसै गरी २०१ जनाले परिवार नियोजनका साधनको प्रयोगबारे सेवा लिएका छन् भने ५०५ जना बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ । त्यसै गरी श्वासप्रश्वाससम्बन्धी सेवा दुई सय जनाले लिएका छन् भने ग्यास्ट्रिकसम्बन्धी ५७२ र दुखाइ तथा चोटपटकसम्बन्धी सेवा ४३८ जनाले लिएका छन् । गाउँमै अस्पताल बनेपछि सानोतिनो उपचारका लागि चौरजहारी मिसन अस्पताल तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ । यसका साथै समयमै उपचार पाउँदा स्वास्थ्य जोखिम हटेको र आर्थिक बोझसमेत कम हुने गरेको छ । अस्पतालका चिकित्सक विवेक केसीले ग्यास्ट्रिक र दुखाइ तथा चोटपटक लागेका बिरामी बढी मात्रामा आउने गरेको जानकारी दिनुभयो । गाउँमै डाक्टरसहितको सेवा रहेकाले उपचारका लागि अस्पताल नै आउने बिरामीको सङ्ख्या बढिरहेको उहाँको भनाइ छ । विगतमा बिरामीलाई गाउँमै धामीझाँक्री तथा घरेलु उपचार गर्ने चलन बढी मात्रामा रहेको थियो । 

नगर अस्पताल सुरु भएपछि रुकुमपश्चिमका साथै सल्यान जिल्लासमेतका बिरामीले बढी मात्रामा सेवा लिने गरेका छन् । अहिले सहिद स्मृति नगर अस्पतालबाट आकस्मिक बिरामी जाँचका साथै सुत्केरी सेवा, किशोरकिशोरीमैत्री सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा, ओपिडीलगायतका सेवा सञ्चालन भइरहेका छन् ।