• ११ पुस २०८१, बिहिबार

कोर्न छाडिए थारू लोककला मौख

blog

थारूको घरका भित्तामा बनाइएका लोककला मौख । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, भदौ २४ गते । काठ, बाँस, भाटा, खर, पराल र माटोले लिपपोत गरेर बनाइने थारू बस्तीका घरका भित्तामा बनाइने लोककला मौख लोपोन्मुख अवस्थामा पुगेको छ । पूर्वी नेपालका सुनसरी, मोरङ, झापा र सप्तरीका थारू बाहुल्य बस्तीका घरका  भित्तामा परम्परागत रूपमा यस्ता लोककला बनाइँदै आइएका थिए ।

थारू बाहुल्य बस्तीमा काठका घरको सट्टा पक्की घर निर्माण गरिन थालेपछि यस्ता लोककलाले पनि स्थान पाउन छाडेको पाइन्छ । पहिला ग्रामीण क्षेत्रका थारू जातिका घरमा लोककला मौख कोबर बनाउने गरिन्थ्यो । 

यस्ता कला विशेष गरी थारू महिलाले बताउने गर्दथे । पौराणिक कथामा आधारित यस्ता कला लोपसँगै कलाकारसमेत पाइन छाडेका छन् । सुनसरी ग्रामथान संरक्षण समितिका जिल्ला उपाध्यक्ष ६८ वर्षीय रामसागर चौधरीका अनुसार लोककला बनाउने सिप हस्तान्तरण नहुँदा थारू लोककला सङ्कटमा परेको छ । ग्रामथान संरक्षण समितिका जिल्ला सचिव सुनील चौधरीका अनुसार चिटिक्क पारिएका भुइँतले घरका भित्तामा साधारण मास रङ प्रयोग गरेर काँस र परालको कुचोको सहायताले बनाइने चित्र हेरिरहुँ जस्तो लाग्छ । भदौ र असोज महिनामा थारू बाहुल्य बस्तीका युवती घर रङ्गाउने काममा व्यस्त हुन्थे । 

पत्रकार निशान प्रकृति थारूका अनुसार भदौ, असोज महिनादेखि नै घरमा लिपपोत गरेर चित्र बनाउन सुरु गरिन्थ्यो । अहिले प्रायः पक्का घर भएकाले लिपपोत गर्ने कमेरो र रातो माटोको प्रयोग हुनै छाडेको छ । 

घरको स्थान सुहाउँदो ठाउँमा विभिन्न किसिमका फूल, घर, हिमाल, पहाड तथा देवीदेवताका चित्र बनाइन्छ । स्थानीय सुनील चौधरीका अनुसार विवाह गर्दा पहिले दुलहीले आफ्नो हुनेवाला दुलहालाई यस प्रकारको कला देखाउने गरेको र दुलहाले दुलहीलाई विवाह मञ्जुर गर्न मयूरको चित्रमा नीलो रङको प्रयोग गरिदिने परम्परा थियो ।