• ११ असोज २०८१, शुक्रबार

जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने

blog

काठमाडौं, भदौ २५ गते । नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मत्यु हुनेको संख्या  पुगेको छ । 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बाँके, कैलालीस चितवन र सुनसरी गरी चार जिल्लाबाट  छ जना जापानिज इन्सेफलाइटिस सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । 

डा.बुढाथोकीका अनुसार विभिन्न जिल्लाबाट ६७५ जना जापानिज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । उहाँले भन्नुभयो,“पछिल्लो केही वर्षदेखि जापानिज इन्सेफलाइटिसका बिरामी पुष्टि हुँदै आए पनि यसपटक छ जना सङ्क्रमितको मृत्यु हुनु चिन्ताको विषय हो ।” 

 डा. बुढाथोकीका अनुसार मृत्यु हुने सङ्क्रमितमध्ये जेई विरुद्धको खाेप नलगाएका छन् । उहाँ भन्नुहुन्छ, “मृत्यु हुनेमा  ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिका र अन्य वयस्क र वृद्धवृद्धा छन् । मृत्यु भएका अधिकाशंले खोप नलगाएको पाइएको छ । ”

 धेरै वर्षदेखि खोपले नियन्त्रण गरेको जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनु दुख भएको सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनको तर्क छ । उहाँ भन्नुहुन्छ, “जापानिज इन्सेफलाइटिस २००३ तिर व्यापक रुपमा देखापरेको थियो । यसको सङ्क्रमणले धेरैको अकालमै मृत्यु भएको थियो । यो विरुद्धको खोपले राेगलाई नियन्त्रण गरेको थियो । धेरै वर्षपछि एक्कासि यसको सङ्क्रमण देखिनु चिन्ताको विषय हो ।”

 जापानिज इन्सेफलाइटिस कस्तो रोग हो ?

डा.पुनका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको  गम्भीर रोग हो । 

उहाँ भन्नुहुन्छ, “जापानिज इन्सेफलाइटिसस सङ्क्रमण लामाखुट्टेको टोइबाट हुने गम्भीर रोग हो । यसले मानिसको स्नायुमा असर पुर्‍याइ जीवनभर अङ्गभङ बनाउनुका साथै बिरामीको  मृत्युसमेत हुने गरेको छ ।” यो रोग जुनसुकै उमेरका मानिसाई लाग्न सक्छ तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने डा.पुन बताउनुहुन्छ । 

यो भाइरसबाट  सङ्क्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरुलाई लामखुट्टेले टोक्यो  भने  सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्ने डा. पुन बताउनुुहन्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग विशेषगरी, साउनदेखि कार्तिकसम्म देखिने चिकित्सक बताउँछन् । 

जापानिज इन्सेफलाइटिसका लक्षण 

 डा. पुनका अनुसार बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुने, कम्पन हुने, पक्षघात हुने यसको प्रमुख लक्षण हुन् ।  यो रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु हुन सक्ने डा. पुन बताउनुहुन्छ । 

जापानिज इन्सेफलाइटिस रोगबाट कसरी बच्ने  

चिकित्सकका अनुसार कलामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । यो रोगबाट बच्न सधैं झुलभित्र मात्र सुत्न चिकित्सकको सुझाव छ । हाँस, कुखुरा,सेँगुर,बङ्गुर, जस्ता घरपालुवा चराचुरुङ्गी तथा जनावरहरुलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खाेरमा राखेर सुरक्षित तरिकाले पाल्न डा. बुढाथोकीको सुझाव छ । 

उहाँले घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला  भएका लुगा लगाउन डा. बुढाथोकीले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “यो रोगबाट बच्न घरको झ्यालढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने , लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ ।” 

सरकारले यो रोगको सङ्क्रमणबाट बच्न १२ महिनामा जेई विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमा समावेश गरी निःशुल्क लगाउँदै आएको छ । खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन डा. बुढाथोकीको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।