• ६ जेठ २०८१, आइतबार

फिलिपिन्सको चुनाव : छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित

blog

मनिला, वैशाख २७ गते । फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाउनुभएको थियो ।

दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उहाँहरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी हुनुभएको छ ।

राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाउनुभएको र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा हुनुहुन्थ्यो ।

नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरि मतदान भएको थियो । त्यस अन्तर्गत एक एक जना राष्ट्र्पति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सयभन्दा बढी अन्य स्थानीय प्रतिनिधि छन् ।

मतदानका लागि देशभरि ३७ हजार २११ मतदान केन्द्र तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिबद्धता जनाउनुभएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।

पूर्व सिनेटर समेत रहनुभएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नुहुनेछ । अहिलेका राष्ट्रपतिको ६ वर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटना भएका छन् ।

फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिनुभएको थियो । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।