• २३ भदौ २०८१, आइतबार

एन्फा महिला लिग : कोशीको जितको लय जारी

blog

बल खोस्ने प्रयास गर्दै कोशी र कर्णालीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ २३ गते । कोशी प्रदेशले एन्फा महिला लिगमा आफ्नो जितको लय जारी राखेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा कोशीले कर्णली प्रदेशलाई ४–० गोलले हरायो ।

कोशीको जितमा पूर्णिमा राईले ३४औँ र ७३औँ मिनेटमा दुई गोल गर्नुभयो । समीक्षा मगरले ६६औँ र प्रतीक्षा राईले ७४औँ मिनेटमा एक एक गोल थप्नुभयो । लगातार तेस्रो जितसँगै नौ अङ्क बनाएको कोशी तालिकाको शीर्षस्थानमा छ । तेस्रो हार खेपेको कर्णालीले अङ्कको खाता खोल्न सकेको छैन । 

लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।