• २३ भदौ २०८१, आइतबार

नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्नुपर्ने : प्रहरी महानिरीक्षक कुँवर

blog

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सरुवा भई जाने प्रहरी निरीक्षकहरूलाई निर्देशन सम्बोधन गर्नुहुँदै । तस्बिर : नेपाल प्रहरी

काठमाडौँ, भदौ २३ गते । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरु थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले इमानदारी, पारदर्शिता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ सङ्गठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले साङ्गठनिक शुद्धीकरण र सुदृढीकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैंलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।