• १३ पुस २०८१, शनिबार

बालबालिकामा कुपोषण बढ्दै

blog

मेलौली नगरपालिकाका ३५६ परिवार मध्ये ६० परिवारले लगाएको कोदो बारी । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, भदौ २३ गते । बैतडीमा पोषणमा सुधार गर्ने कार्यक्रम अन्तर्गत कोदोखेती घट्दै गएको छ । पालिकाहरूले कोसेलीका नाममा सुत्केरी महिलालाई अण्डा, घ्युका डब्बा र कुखुराको भाले वितरण गरेपनि पोषणमा सहयोग गर्ने रैथाने बाली कोदो, मादुरो, चिनो र फापरखेतीलाई प्रोत्साहन नगर्दा बालबालिकामा कुपोषण बढेको हो ।  

स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक २०७९-२०८० मा एक हजार नौ सय ३४ जना बालबालिका कुपोषित भेटिएका छन् । यीमध्ये तीन सय १२ जना बालबालिका कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालकालिकामा तौल निकै कम छ भने अनुहार पनि ख्याउटे भएको पाइएको छ ।

पोषण सुधार गर्न स्थानीय तहले कृषि, पशु र स्वास्थ्य कार्यसँग समन्वय बढाउनु पर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । उहाँले स्थानीय बाली कोदो, फापर, चिनो र मादुरोखेतीलाई प्रोत्साहन गर्नु पर्ने बताउनुभयो । 

स्थानीय तहले रैनाथे बालीलाई प्रोत्साहन नगर्दा मेलौली नगरपालिका–९, मा ३५६ परिवार मध्ये ६० परिवारले मात्रै कोदोखेती गरेका छन् । वडाभरि जम्मा ३४ परिवारले मात्रै गहतको दालखेती गरेका छन् । गाउँबाट युवा पलायन भएपछि अधिकांश जमिन बाँझो रहेको छ । यहाँ वार्षिक ९० लाख रुपियाँको चामल आयात हुने गरेको वडा अध्यक्ष लोकराज भट्टले बताउनुभयो । 

यस्तै, अवस्था अन्य पालिकाको पनि रहेको छ । जिल्लालाई वार्षिक ५८ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा ठुलो परिमाणमा चामल आयात हुने गरेको छ । पोषणमा सुधार गर्ने रैनाथ बाली हराउँदै जान थालेपछि कुपोषण बढेको छ । जिल्लाका १० स्थानीय तहमा करिब दुई हजार हाराहारीमा कुपोषित बालबालिका भेटिएका छन् । 

यसैगरी, सुदूरपश्चिमतिर कोदोको हलुवामा घ्यु र सख्खर मिलाएर खाने चलन हराउन थालेको छ । सुत्केरी महिलालाई गाईको घ्युमा स्थानीय गुड मिलाएर कोदोको हलुवा खान दिन चलन हराएको छ । कोदो फलाउने र यसको परिकार खाने चलन हराउँदै जान थालेपछि कुपोषण बढेको पाइएको छ । 

जिल्लामा पहिले कोदोको माणा र हलुवा खाने चलन थियो । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा समेत परिवर्तन आएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । 

स्थानीय अन्नलाई प्रोत्साहन गर्न गाउँपालिकाले विद्यालयको दिवा खाजामा स्थानी स्तरमै फलेको कोदो, गेडागुडी र अन्नलाई प्राथमिकता दिने गरी दिवा खाजाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

यस्तै, जिल्लामा पोषण सुधार गर्न आएका विभिन्न एनजिओ/आईएनजीओले बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका उन्नत जातको बिउँ भन्दै बाँड्न थालेपछि रैनाथे बिउँ मासिएको अगुवा किसान चिन्तामणि भट्टले बताउनुभयो । अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “रायो, मुला, बैगन, भटमास र कुखुरा बाँड्दा सबै उन्नत जातको भनेर बाँड्न थालेपछि अचेल कुखुरा पनि ओथारो बस्दैन । तरकारीको बिउँ पनि राख्न मिल्दैन ।”

पोषण सुधार गर्न भन्दै संस्थाहरूले बाँडेका गिरिराज नामका उन्नत जातको कुखुराले फुल पार्ने तर ओथारो नबस्दा पोषणको कार्यक्रम सकिने बित्तिकै कुखुरा पनि सकिने गरेको किसानले बताएका छन् । स्थानीय जातको कुखुरा बाँडेको भए ओथारो बसेर कुखुराको सङ्ख्या बढ्ने भए पनि प्राथमिकता नदिएको किसानको गुनासो छ ।