• ११ मंसिर २०८१, मङ्गलबार

जहाँ पुगे नेपाली, त्यही पुगे चाडपर्व

blog

समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको कचहरीमा प्रस्तुति राख्नुहुँदै डा. राजेन्द्रराज तिमिल्सिना।तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ २२ गते। अहिले धेरैजसो चल्तीमा नेपाली कलाकार विदेशी सहरमा व्यस्त छन्।हिन्दू नारीको पर्व तीज छेक पारी कलाकारलाई विदेशमा हुने नेपालीले कार्यक्रमका लागि डाकेका हुन्।विश्वका जुन जुन ठाउँमा नेपाली पुगेका छन्, नेपाली संस्कार, संस्कृति र चाडपर्व त्यहाँ पनि पुगेको छ ।

एनआरएनएका उपमहासचिव सोम सापकोटा नेपाली विश्वका जुन जुन ठाउँमा पुगेका छन्, नेपाली चाडपर्व र संस्कृति त्यहाँसम्म पुगेको बताउनुहुन्छ।तीज सांस्कृतिक महोत्सवमा भाग लिन पोखरा आउनुभएका सापकोटा धेरै नेपाली रहेका ठाउँमा स्थानीय सरकार र त्यहाँका सरकारी निकायहरुसँग समन्वय गरी पर्व मनाउने व्यवस्था गर्ने गरेको सुनाउनुहुन्छ ।

“नेपाली पुगेका ठाउँमा दसैं, तिहार, तीज जस्ता पर्व नेपालमै जसरी मनाउने गरिएको छ,” उपमहासचिव सापकोटा भन्नुहुन्छ, “स्थानीय सरकार र सम्बन्धित निकायहरुसँग समन्वय गरी पर्व बनाउने व्यवस्थाका लागि एनआरएनएले काम गरिरहेको छ ।” सापकोटाकै भनाइमा पत्रकार डा राजेन्द्रराज तिमिल्सिना सहमत हुनुहुन्छ।

नेपालमा चाडपर्वको खासै वास्ता नगर्नेले विदेश पुगेपछि आफ्नो संस्कृति र परम्परा पछ्याउने गरेको पाइएको डा. तिमिल्सनाले सुनाउनुभयो।बदलिँदो परिवेशमा फेरिएको संस्कृति र उत्सवबारे समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको कचहरीमा डा. तिमिल्सिनाले ‘आर्यवर्त, आपरिवर्तन र उत्सव’ शीर्षकमा प्रस्तुति राख्नुभयो ।

नवउदारवाद र पैसाका कारण अहिले हाम्रो संस्कृति र पर्वहरु फेरिँदै गएको उहाँको ठम्याइँ छ।विश्वव्यापीकरणका कारण विविध खाले धर्म, संस्कृति विश्वभर फैलनुका साथै त्यही अनुसार प्रभाव पारेको उहाँले उल्लेख गर्नुभयो।

एक दिन दर खाएर भोलिपल्ट व्रत बसी मनाइने तीजको स्वरुप फेरिएको छ।हिमाली क्षेत्र मुस्ताङदेखि तराईका वीरगन्ज, जनकपुरसम्म तीज भव्य तवरले मनाउन थालिएको छ।डा तिमिल्सिनाले भन्नुभयो, “न्वारन लगायतका काम भर्चुअल रुपमा गर्न थालिएको छ।एकातिर बाहिरी संस्कृतिले हिन्दू परम्परामाथि प्रभाव जमाइहेको छ, अर्कोतिर वैदिक संस्कृतिको प्रभाव उसैगरी विश्वभर फैलिँदै गएको छ ।”

मानवअधिकारका लागि एकल महिला समूह गण्डकी अध्यक्ष प्रमिला तझ्या अचेल सामाजिक परम्परा र पर्व संस्कृति बद्लिएको विचार राख्नुहुन्छ।२४ वर्षअघि पतिको निधनपछिका दिन सम्झँदा उहाँलाई अहिले कहाली लाग्छ।एकल महिलाले पोते, रातो कपडा लगाउने, घरबाहिर निस्कने कुरा सोचिएकै थिएन ।

उहाँ भन्नुहुन्छ, “जुन दिन हामीले घरबाट निस्केर पार्टी प्यालेसमा दर खायौं, त्यसपछि हाम्रो दायरा पनि फराकिलो रहेछ भनेर अनुभूति गर्‍यौँ ।” राजनीतिक परिवर्तनले समेत संस्कृति र पर्वमा परिवर्तन आएको उहाँको भनाइ छ ।

विन्ध्यवासिनी संस्कृत विद्यापीठका क्याम्पस प्रमुख प्रा.डा. जगन्नाथ रेग्मी समयक्रमसँगै संस्कृति पनि विस्तारै फेरिँदै गएर समय सुहाउँदो बन्ने विचार राख्नुहुन्छ।धर्म, संस्कृतिको जिम्मा संस्कृत पढेका र धर्मगुरुहरुको मात्र नभएको भन्दै उहाँ समाजका सबै वर्गले यसलाई सुदृढ बनाउन भूमिका खेल्नुपर्ने उहाँ औंल्याउनुहुन्छ।

प्रदेश नीति तथा योजना आयोग गण्डकीकी पूर्वसदस्य डा अञ्चला चौधरी परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने तर्क गर्नुहुन्छ ।रौतहटको चौधरी परिवारमा जन्मेर कास्कीको ब्राह्मण परिवारको बुहारी हुँदासम्म धेरै हन्डर खेप्नुपरेको अनुभव उहाँले सुनाउनुभयो ।

नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले परम्परा धान्ने नाममा आर्थिक रुपमै कंगाल हुनुपर्ने अवस्था आउन नदिने पक्षमा सचेत हुनुपर्ने औंल्याउनुभयो।“नेवारहरु तीन सय ६५ दिनमा ३ सय ६६ दिन भोज खान्छन् भन्छन्, अहिले हामी गच्छे अनुसारको व्यवहारमा जोड दिन्छौँ ।”

केन्द्रका अध्यक्ष डा ठानबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रम संयोजन उपेन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो।कार्यक्रममा सबैभन्दा पहिला आउने व्यक्तिलाई प्रमुख अतिथि बनाउने नियमअनुसार शनिबारको कार्यक्रममा गोमा क्षेत्री प्रमुख अतिथि बन्नुभयो।