धरान, वैशाख २७ गते । सुनसरीको धरान उपमहानगरपालिकामा वर्षौ देखिको मुख्य समस्या नै खानेपानी हो । मतदाताहरुले दलविशेष मतभन्दा पनि पानीको एजेण्डालाई मुख्य बनाउने गरेका छन् । 
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराउनुभएका प्रमुखहरुले पानीलाई नै ऐजेन्डा बनाउँदै आएका छन् । धरानमा खानेपानीको हाहाकार समाधान नै मतदाताहरुले उम्मेदवारसँग प्रश्न गर्दै चुनावी एजेण्डा बनाउन बाध्य बनाएका छन् ।
अघिल्ला निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले खानेपानीलाई प्राथमिकतामा राख्न नसकेको स्थानीयवासीको आरोप छ । पूर्व उपप्रमुख तथा यस वर्ष प्रमुख पदका उम्मेद्वार मञ्जु भण्डारीले खानेपानीको सबै समस्या समधानमा प्राविधिक लगायतका सबै काम सम्पन्न गरिसकिएको बताउनुभयो । 
प्रमुख पदका उम्मेद्वार किशोर राईले धरानका नगरवासीलाई गुनासो गर्ने मौका नदिने बताउनुहुँदै ठूला भाषण नगरी जनताको हितमा काम गर्ने, धरानको हरेक विकासमा खानेपानी जोडिएको हुन्छ, खानेपानी विना धरानको विकास हुनै नसक्ने बताउनुभयो । 
त्यस्तैगरी हर्क साम्पाङ पनि स्थानीय तहको निर्वाचनका लागि पहिलो मुद्दा नै धरानको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनका लागि चुनावी दौडमा हुनुहुन्छ । उहाँ भन्नुन्छ “खानेपानी समस्या समाधान नभएसम्म जङ्गल गएर बस्छु” । धरानमा एक लाख ३२४ जना मतदाता छन् ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                