• २९ फागुन २०८१, बिहिबार

फूलैफूलको बगैँचाले चिटिक्क धरान (फोटो फिचर)

blog

धरान, फागुन २९ गते । बेलायती संस्कृति र संस्कार समेत रहेको पूर्वको धरान बजार व्यवस्थित सहर मात्र होइन फुलैफूलको बगैँचाले समेत चिटिक्क छ । सफा सुग्घर मात्र नभएर हेर्दे मन आनन्द हुने गरी  सयौँ थरी फूलहरू घरका वरिपरि रोपेको भेटिन्छ । 

यहाँका अधिकांश घरहरू ब्रिटिस आर्मी र उहाँको आफन्तहरूको बसोवास रहेको छ । धरान उपमहानगरपालिकाको अधिकांश घरहरूमा फुलहरू ढकमक्क फुलिरहेका हुन्छन् यसरी हरेक घरहरूमा रहेको फूलहरूले धरानलाई सजाएको छ ।

पूर्वको सुन्दर नगरी भनेर चिनिने सहर धरानलाई हरेक घरमा रहेको फूलबारीहरूले अझ सौन्दर्य दिएको छ । धरानका घर आँगनहरूमा रङ्गीचङ्गी फूलहरू फुलिरहन्छ जसले गर्दा धरानलाई फूलाफूलको सहर भनेर समेत चिनिने बनाएको छ । 

धरानमा करेसाबारी नभए पनि फूलबारी भने हुने गरेको छ । यहाँ त्यस्ता घर छैनन् जहाँ कुनै फूल वा बिरुवा नहोस् यहाँका सुकुम्बासी बस्तीदेखि लाहुरे बस्तीहरूसम्म फूलहरू रोपेको देख्न सकिन्छ । घरको जग्गा भन्दा कतिपय ठाउँमा त फूलबारीको जग्गा धेरै रहेको छ यसले झनै धरानलाई  सजाएको छ ।

२०४६ साल देखि धरान १० मा बसोवास गर्दै आउनुभएको कृष्णकुमारी लिम्बूले आफ्नो घर अगाडि लालुपाते, बेगमबेली, पिटेनिया जस्ता फूलहरू ढकमक्क फुलाउनु भएको छ । उहाँको फूलबारीमा धेरै थरीका फूलहरू रहेको छ । घरको ढोका देखि कोठा भित्र साथै छतमा समेत फूलहरूले सजाइएको छ । श्रीमानसँग पल्टनमा हुँदा फूलहरू धेरै देखेकोले नेपाल घर आएदेखि फूलहरू रोप्न थालेको उहाँले बताउनुभयो । पहिला–पहिला त नगरपालिकाले फूलबारी हुनेहरूको प्रतिस्पर्धा पनि गराउने चलन थियो । “२०६२ सालमा धरान नगरपालिकाले फूलबारीको प्रतिस्पर्धा गराउँदा म प्रथम भएको थिए” उहाँले बताउनुभयो । 

यसै गरी धरान–१२ निवासी एलिना राई पनि फूलको सौखिन भएकोले आफ्नो घर वरपर धेरै थरीका फूलहरूले सजाउनु भएको छ । उहाँले आफ्नो आँगन मात्र नभएर घर कोठाहरू पनि सजाउनुभएको छ । फूलहरू फुल्दा मनमा आनन्द दिने, शान्ति मिल्ने भएकोले सानैबाट फूलहरू किनेर नै ल्याएर रोप्ने गरेको उहाँले बताउनुभयो । फुलहरू हेर्दा सकारात्मक सोचाइ आउने र मन पनि भुल्ने गरेको उहाँले बताउनुभयो । 

यसरी धरानका अधिकांश बासिन्दाहरू फूलबारीमा विशेष रुचि राख्छन् र आफ्नो घरलाई सुन्दर बनाउन विभिन्न प्रकारका फूलहरू रोप्ने गर्छन् । विशेष गरी गुलाब, मखमली, चमेली, र ओर्किड जस्ता फूलहरू प्रायः फूलबारीमा देख्न पाइन्छ ।

केही वर्ष अघिसम्म लाहुरेको सहर भनेर चिनिने सहर भए पनि अहिले लाहुरेहरू लाहुर तिरै पलायन हुन थालेको छ तथापि लाहुरेहरूले छोडेको छाप भने रहेकै छ, सफा धरान फूलबारीको सहर धरान अहिले पनि उस्तै रहेको छ । धरानका बासिन्दाहरूले घरसँगै घर अगाडि आँगनको लागी खाली ठाउँ धेरै छाडेर फूलहरू रोप्ने चलन रहेको छ ।

पछिल्लो समय धरानका नगर प्रमुख हर्कराज राई नगर प्रमुख निर्वाचित भएसँगै झनै फूलहरू रोप्ने चलन झनै बढेको देखिन्छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । नगर प्रमुख राईले सञ्चालन गरेको श्रमदान अभियानमार्फत खोलाको बगर र डाँडाकाँडा, सडकको छेउछाउ, खोलाका किनारहरू लगायत, धरान–तरहराको सडक खण्ड, धरान– भेडेटार सडक खण्डको बाटोहरूमा समेत सयपत्री फूलहरू देखि अन्य फूल, प्लान्टहरू रोप्दै आउनुभएको छ । यसले आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने गरेको छ । 

यसै गरी उपमहानगरपालिकाको लगानीमा भानु चोकदेखि छाता चोकसम्मको मुख्य सडकको दायाँबायाँ फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानको सफा, हरियाली, वातावरण र घर–घरमा रहेको फूलबारीले पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ । 

फूललाई सौखका रूपमा रोप्दारोप्दै व्यावसायी बनेर कतिपयले त राम्रो आम्दानी पनि गरिरहनुभएको छ । धरान–२० का युवा युमेनहाङ राई पनि सानैदेखि फूलका सौखिन भएकाले फूलहरू सङ्कलन गर्दै रोप्ने क्रममा कोरोना महामारी पछि एभरेस्ट नर्सरी खोली व्यावसायिक रूपमा नर्सरी चलाउँदै आएको बताउनुभएको छ । 



Author
निसा राई

उहाँ सुनसरी धरानबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।