• २२ भदौ २०८१, शनिबार

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

blog

बल खोस्ने प्रयास गर्दै एपिएफ र आर्मीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ २२ गते । एपिएफ क्लबले एन्फा महिला लिगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलले हरायो । एपिएफको जितमा सविता रानामगरले पहिलो हाफको इन्जुरी समय र गीता रानामगरले ६७औँ मिनेटमा गोल गर्नुभयो । 

आर्मीका लागि विमला चौधरीले ५६औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो । जितसँगै एपिएफले दुई खेलबाट चार अङ्क बनाएको छ । आर्मीको समान खेलबाट तीन अङ्क छ । 

लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।