• २२ भदौ २०८१, शनिबार

गुल्मी कारागारमा पुस्तकालय स्थापना

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ २२ गते । जिल्ला कारागार गुल्मीमा पुस्तकालय स्थापना गरिएको छ । विभिन्न समयमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन हुँदा यहाँका कैदीबन्दीले माग गरे बमोजिम पुस्तकालय स्थापना गरिएको हो । विशेष गरी कैद जीवन बिताइरहेका कैदीबन्दीलाई सहज रूपमा पुस्तक अध्ययन अध्यापन गर्नका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको बताइएको छ । 

“व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मुख्य नारासहित २१ औँ निजामती सेवा दिवसको अवसरमा यस जिल्लामा कारागारभित्र रहेका कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण गरिएको छ । कैदीबन्दीको मनोवृत्तिलाई परिवर्तन गर्ने उद्देश्यले फुर्सदको समयमा पुस्तक अध्ययनमा सहभागी बनाउन पुस्तक हस्तान्तरण गरिएको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । 

यहाँ रहेका कैदीबन्दी उद्यमशीलतामा व्यस्त रहेता पनि लेख्न, पढ्न चाहना भएका कैदीबन्दीको लागि अध्ययनसँगै सोचाइमा परिवर्तन ल्याउनका लागि पुस्तक हस्तान्तरण गरिएको छ । कानुन, साहित्य र विभिन्न प्रतिवेदन लगायतका एक सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो। विभिन्न सङ्घ–संस्थासँग कारागारमा पुस्तक सहयोगका लागि समन्वयसँगै व्यवस्थित तरिकाबाट पुस्तकालय सञ्चालनका लागि प्रयास गरिएको उहाँले बताउनुभयो । 

परिवर्तनसँगै व्यवस्थित भएको यस कारागारको सुधारका लागि निरन्तर प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । त्यस्तै, सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सम्पूर्ण निजामती कर्मचारी नागरिकप्रति केन्द्रित हुनुपर्ने बताउनुभयो । सङ्घीय निजामती सेवा ऐन नआउँदा कर्मचारीलाई समस्या परेको भन्दै सार्वजनिक सेवालाई सुधार गर्ने प्रयासमा निरन्तर लागिएको बताउनुभयो । राजनीतिक दल र निजामती कर्मचारी दुवैको काम राष्ट्र र नागरिकको सेवा गर्नुभएको भन्दै सबै सुशासनयुक्त समाज निर्माणमा लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । 

निजामती सेवा दिवसको अवसरमा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय परिसर सरसफाइ र अभिलेख व्यवस्थित गर्ने कार्य गरिएको छ । कारागारको पुस्तकालयका लागि गुल्मी कर्मचारी मिलन केन्द्रले १२ हजार रुपियाँ, नेपाल निजामती कर्मचारी युनियन गुल्मीले १० हजार रुपियाँ र अन्य सङ्घसंस्था जिल्ला प्रशासन कार्यालय लगायतले २० हजार रुपियाँ गरी ४२ हजार रुपियाँ बराबरको पुस्तक हस्तान्तरण गरिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन गुल्मीका सचिव श्यामलाल पाण्डेले बताउनुभयो । कारागारमा कूल १०८ जना कैदीबन्दी रहेका छन् ।