• २२ भदौ २०८१, शनिबार

गृहमन्त्री लेखकसँग विश्व बैङ्कका पदाधिकारीको भेट

blog

नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसँग भेट गर्नुहुँदै गृहमन्त्री रमेश लेखक।

काठमाडौँ, भदौ २१ गते । नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले शुक्रबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैङ्कले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो ।

गृहमन्त्री लेखकले विसं २०७२ को भूकम्पपछिको पुनः निर्माणमा विश्व बैङ्कको ऋण तथा प्राविधिक सहयोगले पुनः निर्माणमा सहयोग पुगेको बताउनुभएको थियो । विश्व बैङ्कले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्वकार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राख्नु भएको थियो । 

“ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ । विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने उल्लेख गर्दै विश्व बैङ्कले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो ।

“जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनः निर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थापन गर्न सक्छौँ ? त्यसैले अनुदानका परियोजनाहरू बढाउनुपर्‍यो”, उहाँले भन्नुभयो । रासस