• २ माघ २०८१, बुधबार

खानेपानी आयोजना सात वर्षसम्म अधुरै

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ २० गते । खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् । 

खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५, कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण सुरु गरेको थियो । 

कार्यालय प्रमुख श्रेष्ठले अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले ३३ करोड रुपियाँको लागतमा सम्पन्न हुने भनिएको उक्त आयोजना अन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म ‘डिआई’ पाइप बिछ्याइएको बताउनुभयो । 

पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गाधनीले अदालतमा मुद्दा हालेको र करिब १५ कट्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ छ । खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ । पाइपलाइनका लागि कम्दीस्थित डुडुवाखोलामा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ । हरेक वर्ष चैत, वैशाख र जेठमा नेपालगन्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने गरेको छ । उपमहानगरका अधिकांश स्थानमा सर्वसाधारणले गाडेका ह्यान्डपम्प सुक्ने समस्या देखिएको संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताउनुभयो । 

उहाँका अनुसार यो आयोजना सम्पन्न भएपछि नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुने छन् । उक्त आयोजना अन्तर्गत राप्ती नदीमा ‘सम्प वेल’ बनाइएको छ । ‘सम्प वेल’ मा हाल दुई थान पम्प जडान गरिएको छ ।  हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगन्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगन्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने सूचना अधिकारी केसीको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले राप्ती खानेपानी आयोजना सम्पन्न भएपछि मात्र नेपालगन्जको खानेपानी समस्या समाधान हुने भएकाले सो आयोजना पूरा गर्न आफूले हरसहयोग गर्दै आइरहेको बताउनुभयो ।