• २ माघ २०८१, बुधबार

सूचीकृतमध्ये तीन प्रतिशतलाई मात्र रोजगारी

blog

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिका–१३ मा निर्मित सिँचाइ नहर । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ २० गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये तीन प्रतिशत युवाले मात्र रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये ३.१३ प्रतिशत अर्थात् १०१ जनाले मात्र रोजगारी पाएका हुन् । बाँकी ९६.८६ प्रतिशत अर्थात् तीन हजार १२१ जना सूचीकृत युवाले रोजगारी पाउन नसकेको नगरपालिकाले जनाएको छ । 

 गरिब तथा विपन्न परिवार र वडाको आवश्यकताका आधारमा युवालाई छनोट गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइएको थियो । नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद शर्माका अनुसार नगरपालिकामा सञ्चालित विभिन्न २५ वटा योजनामा छनोट भएकामध्ये १०१ जनाले ९० दिन बराबरको रोजगारी प्राप्त गरेका छन् । 

उहाँका अनुसार उक्त कार्यक्रममा एक हजार ६५७ जना महिला र एक हजार ५६४ जना पुरुष गरेर जम्मा तीन हजार ३२२ जना बेरोजगार व्यक्ति सूचीकृत भएका थिए । जस अन्तर्गत छनोट भएका १०१ जनाले प्रतिदिन ६६८ रुपियाँका दरले रकम प्राप्त गरेका छन् । रोजगार संयोजक शर्माका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो, सिँचाइ, पदमार्ग, खानेपानीलगायतका योजना सम्पन्न भएका छन् । यस कार्यक्रमका लागि प्राप्त भएको ८४ लाख १८ हजार बजेटमध्ये ९८.१० प्रतिशत अर्थात् ८२ लाख ५६ हजार ६३८ रुपियाँ ५८ पैसा खर्च भएको छ ।

त्यसै गरी गत आवमा नै मुख्यमन्त्री रोजगार कार्यक्रमबाट चौरजहारी नगरपालिकामा २१९ जना बेरोजगारले रोजगारी पाएका छन् । विभिन्न १४ वटा आयोजनामार्फत उनीहरूले रोजगारी प्राप्त गरेका हुन् । मुख्यमन्त्री रोजगार कार्यक्रममा युवाले औसतमा ६६ दिन रोजगारी प्राप्त गरेको बताइएको छ । दक्ष कामदारले प्रतिदिन एक हजार १५५ रुपियाँका दरले र अदक्ष कामदारले प्रतिदिन ८७० रुपियाँका दरले ज्याला पाएका छन् । नगरपालिकाका १४ वटै वडामा सञ्चालित योजना अन्तर्गत पदमार्ग, सिँचाइ कुलो, विद्यालयको पर्खाल निर्माण, गोरेटो बाटो र खानेपानीको आयोजना निर्माण गरिएको छ । 

यी आयोजना सम्पन्न गर्नका लागि नगरपालिकालाई दुई करोड ११ लाख ८० हजार रकम प्राप्त भएको थियो । प्राप्त भएको बजेटको ९९.९७ प्रतिशत अर्थात् दुई करोड ११ लाख १३ हजार रुपियाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।