• १६ चैत २०८०, शुक्रबार

आरोहण नभएका हिमाल आरोहण गर्ने कोरियाका आरोहीलाई पर्यटन मन्त्रालयको सम्मान

blog

फु खाङ पिकमा पहिलो पटक मानव पाइला टेक्न सफल कोरियाका आरोही किम मि गोन सहितको टोलीलाई सम्मान गर्नुहुँदै पर्यटन सचिव महेश्वर न्यौपाने ।

काठमाडौं, बैशाख २६ गते । मानव पाइला नपुगेका हिमालको सफल आरोहण गर्ने कोरियाका छ आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले सम्मान गर्नुभएको छ । 

सरकारले पहिचान गरेर आरोहणका लागि खुल्ला गरे पनि वर्षो देखि आरोहण हुन नसकेको  मनाङको नार्फु क्षेत्रमा रहेको छ हजार ६९४ मिटरको फु खाङ पिक कोरियाका विश्वप्रख्यात आरोही किम मि गोनको नेतृत्वमा छ जना कोरियन आरोही र नेपाली गाइड सहितको टोलीले सफल आरोहण गरेपछि मन्त्रालयले आरोहण टोलीलाई सोमबार सम्मान गरेको छ । 

विश्वका आठ हजार मिटर माथिका १४ हिमाल आरोहण गरिसक्नु भएका किम मि सहितको टोलीले गत मे ४ तारिखमा उक्त हिमालको सफल आरोहण भएको थियो । सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेकाे हिमालहरु मध्ये अझै ८० वटा भन्दा बढी हिमाल आरोहण हुन नसकेको पर्यटन विभागको तथ्याङकमा उल्लेख छ । फु खाङ पिक आरोहण कम्पनी ट्रेकिङ क्याम्प नेपालले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै सचिव न्यौपानेले धेरै भीड हुने र सहज आरोहण हुने हिमालमा मात्र आरोहीको भीड लाग्ने गरेको भन्दै अन्य हिमालको प्रवद्र्धन गर्ने लक्ष्यले आरोहीहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । 


फु खाङ पिक आरोहण पछि आयोजित बधाई कार्यक्रमा बोल्नु हुँदै कोरियाका प्रख्यात आरोही (१४ हिमाल आरोहण गरीसक्नु भएका) किम मि गोन । 

नेपालमा आरोहण नभएका हिमाललाई प्रवद्र्धन गरेर पर्वतीय पर्यटनको संख्यामा बृद्धि गर्ने लक्ष्य मन्त्रालय र यस अन्तर्गत रहेका निकायहरुले पहल सुरु गरेको सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहनु भएका न्यौपानेले जानकारी दिनुभयो । मानव पाइला पुग्न नसकेको फु खाङ पिकको पहिलो पटक सफल आरोहण गरेर कोरियाका आरोहीले नेपालको पर्वतीय पर्यटनमा सहयोग गरेको छ, त्यसैले हामीले उहाँहरुलाई सम्मान सहित बधाई दिएका हौ उहाँले भन्नुभयो । 

हिमालसँग विदेशीहरुको मन जोडिएको हुनाले आरोहण नभएका हिमालहरुको पर्वद्र्धनमा सरकार लागि परेको उहाँको भनाई छ । फु खाङ पिकको कोरियाका विश्वप्रख्यात आरोही किम मि गोनको नेतृत्वमा छ जना कोरियन आरोही र नेपाली गाइड सहितको टोलीले उक्त हिमालमा पहिलो पटक सफल आरोहण गर्नुभएको थियो । आरोहण गर्नेहरुमा किम मि सहित ह्वाङ सुङ मि,  काङ सिङ वाङ,  जाङ दाइ बो,  किम मिन सो,  लि कुन जीन रहनु भएको छ । आरोहीहरुलाई मन्त्रालयका सचिव न्यौपानेले खदा र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । 

फु खाङ पिक आरोहणलाई ट्रेकिङ क्याम्प नेपालले आयोजना गरेको थियो । नेपालको अर्थतन्त्र आधार पर्यटन क्षेत्र र त्यसमा पनि गुणस्तरीय पर्यटनको रुपमा पर्वतारोहण क्षेत्र भएकाले सरकारले यसको प्रवद्र्धनमा कुनै कसुर बाँकी नराख्ने सचिव न्यौपानेले बताउनुभयो । निजी क्षेत्रको सहयोग विना नेपालको पर्यटन क्षेत्रको कल्पना समेत गर्न सकिन्न तर राज्यसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनका लागि हामीले पहल गरे पर्यटन क्षेत्र पुरानै शैलीमा फर्कन कुनै समय नलाग्ने उहाँले बताउनुभयो । सन् २०२२ देखिको पर्यटन आगमनको तथ्याङकलाई हेर्दा पर्यटन क्षेत्रमा आशा पलाएको उहाँले बताउनुभयो । 


बधाई कार्यक्रमसँगै सामुहिक तस्विरमा पर्यटन सचिव महेश्वर न्यौपाने सहिचको टोली  

कार्यक्रममा आरोहीहरुलाई बधाई दिनुहुँदै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आगमन हुने पर्यटकको तथ्याङकलाई हेर्दा यसअघि कोरियाका पर्यटन पाँचौ स्थानमा रहेको अर्थात बार्षिक ४० हजार जनाको संख्यामा नेपालमा पर्यटक भित्रिने गरेको बताउनुभयो । बधाई तथा सम्मान कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पा, नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछाने, हिक्मत सिंह ऐर, नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामा, कोरियन टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन नेपालका अध्यक्ष अमरबहादुर शाही, लगायतको उपस्थिती रहेको थियो । 


बधाई कार्यक्रममा बोल्नु हुँदै पर्यटन सचिव महेश्वर न्यौपाने 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।