• १६ भदौ २०८१, आइतबार

आईबा विश्व महिला बक्सिङ : नेपालकी सुस्माको प्रतिद्वन्द्वी मंगोलियाकी लान्चिव

blog

काठमाडौँ, वैशाख २६ गते । टर्कीको इस्तानबुलमा सोमबारदेखि सुरु भएको आईबा विश्व महिला बक्सिङ च्यिाम्पियनसिप अन्तर्गत ४६ देखि ४८ किलो तौल समुहमा नेपालकी सुस्मा तामाङले पहिलो खेलमा मंगोलियाकी लान्चिव योन प्रतिद्वन्द्वी पाउनुभएको छ । आयोजकले सोमबार गरेको ड्र अनुसार सुस्मा र लान्चिवको पहिलो खेल मंगलबार रहेको छ । यस तौलमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

यसैगरी ५० देखि ५२ किलो तौल समुहमा नेपालकी मिनु गुरुङले जापानकी आर किनोशितासँग मे ११ तारिख प्रतिस्पर्धा गर्नुहुनेछ । यस स्पर्धामा २८ वटा देशका खेलाडी छन् । ५४ देखि ५७ किलो तौल समुहमा नेपालका चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिसासँग मे ११ मा प्रतिस्पर्धा गर्नुहुनेछ । 

५७ देखि ६० किलो तौल समुहमा नेपालकी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाउनुभएको छ । ३१ देशका खेलाडीको सहभागिता रहेको यस स्पर्धाको अर्को चरणमा पुनमले ग्रिस र मोरक्कोबीचको विजेतासँग मे १५ तारिख प्रतिस्पर्धा गर्नुहुनेछ । मे २१ तारिखसम्म सञ्चालन हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा ७३ देशका ३१० खेलाडीको सहभागिता रहेको छ । नेपालबाट चार खेलाडी सहित सात जनाको सहभागिता रहेको छ ।