राजु लामिछाने
रुकुमपश्चिम, भदौ १८ गते । गोरखापत्रका रुकुमपश्चिम (मुसीकोट) समाचारदाता राजु लामिछाने सम्मानित हुनुभएको छ । चौरजहारी नगरपालिका –११ निवासी सहिद गणेश शाहको ३० औं स्मृति दिवसको अवसरमा सोमबार खोलागाउँमा आयोजित स्मृति सभामा उहाँलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
लामिछानेले पत्रकारिता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्रको स्थापना तथा कार्यान्वयन, ग्रामीण विषयवस्तुको उजागर गरेर समाज रुपान्तरणका लागि उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको हो । पत्रकार लामिछाने लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
स्मृति सभाको अवसरमा उहाँलाई सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह तथा उहाँका परिवारका अन्य सदस्यहरु, नेपाली कांग्रेस रुकुमपश्चिमका उपसभापति हर्कसिं खत्री, जिल्ला सदस्य यदुकुमार आचार्य, चौरजहारी नगर सभापति प्रेमबहादुर ओलीलगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
स्मृति दिवसको अवसरमा सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण गरिएको नेपाली कांग्रेस चौरजहारी ११ का वडा सभापति खिमबहादुर ओलीले जानकारी दिनुभयो ।
२०५१ साल भदौ १७ गतेका दिन तत्कालीन सिम्ली गाविसको सुलिहालेमा माओवादीद्वारा शाहको हत्या भएको थियो । खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहेको बेला उहाँको हत्या भएको थियो ।