काठमाडौँ, असार ३० गते । वर्षायाममा गाईभैँसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ । दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुर्याएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ । दुई वर्षअघि महामारीकै रूप धारण गरेको ‘लम्पी स्किन’ अघिल्लो वर्ष भने कम थियो । यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ ।
दुई वर्षअघिको ‘लम्पी स्किन’ को सङ्क्रमणपछि जन्मिएका गाईका बाच्छाबाच्छीमा यो समस्या धेरै देखिएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डा. देवकुमार दर्लामीले जानकारी दिनुभयो । उहाँले ‘लम्पी स्किन’ देखिनेबित्तिकै हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सङ्घीय सरकारलाई जानकारी गराएको र स्थानीय तहसँग समन्वय गरेको बताउनुभयो ।
एक वर्षअघि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन किसान र सरकारी संयन्त्रले ध्यान नदिँदा यस वर्ष धेरै फैलिएको उहाँले उल्लेख गर्नुभयो । सङ्क्रमण देखिएपछि पशुको ओसारपसारमा निगरानी राखेको र सरसफाइमा ध्यान दिन र खोप लगाउने कार्यमा प्रोत्साहन गर्न मन्त्रालयले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । सङ्क्रमित पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन नमिल्ने र स्वस्थ पशुलाई मात्रै लगाउनुपर्ने भएकाले एकै पटक ठुलो सङ्ख्यामा खोप लगाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
खोपले काम गरेको नगरेको भन्नेबारे किसानबाट जिज्ञासा आउने गरेकामा त्यसको अध्ययन गर्ने ल्याबको क्षमता नभएकाले अध्ययनपछि मात्रै आफूहरूले सङ्घीय सरकारसँग नै यसबारेमा सोध्ने उहाँले बताउनुभयो । उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. टपेन्द्रप्रसाद बोहोराले पाँच प्रदेशका कम्तीमा १५ जिल्लामा पाँच हजार दुई सय पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण रहेको जानकारी दिनुभयो । उहाँले १३ हजार सक्रिय सङ्क्रमितबाट झरेर सो सङ्ख्यामा आएको उहाँले स्पष्ट पार्नुभयो ।
कोशीमा झापा, इलाम, मोरङ र सुनसरीमा अरू जिल्लाभन्दा धेरै सङ्क्रमित रहेको र अरू जिल्लामा कम रहेको उहाँले बताउनुभयो । त्यसबाहेक बागमती प्रदेशको चितवन र धादिङ, मधेशको बारा, कर्णालीको रुकुमपश्चिममा सङ्क्रमण देखिएको छ ।
पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ । वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले खोप सात वटा नै प्रदेशमा पठाएको छ । पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख सात वटा नै प्रदेशमा पठाएको जानकारी दिनुभयो । चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ । हालसम्म प्रदेशमा पठाएको कुल खोपमध्ये आधा खोप पनि पशुलाई लगाइएको छैन ।
विभागमा कार्यरत डा. नवराज श्रेष्ठका अनुसार प्रदेशको मागका आधारमा खोप उपलब्ध गराइएको र प्रदेशले जिल्लामा पु¥याएर स्थानीय तहमा रहेका पशु स्वास्थ्यकर्मीले किसानको घर घरमा पुगेर खोप लगाउने गर्छन् । लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पु¥याउन विभागले अनुरोध गरेको छ ।
गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउनु पर्छ ।
सङ्क्रमित पशुको दुध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र खास गरी ज्वरो नियन्त्रण गर्न नसकेमा सङ्क्रमित गाईवस्तु मर्न सक्ने पशु चिकित्सक बताउँछन् । नेपालमा २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखिएको थियो ।
दुई वर्षअघि मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँ बराबरको आर्थिक क्षति बेहोरेका थिए । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ पशुमा सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ । नेपालमा ४७ लाख हाराहारीमा गाई र ३१ लाख भैँसी छन् ।