• १६ भदौ २०८१, आइतबार

एनआरएनएले नवौँमा क्रिकेट र फुटबल टोली ल्याउने

blog

नवौँ बारे छलफल गर्दै एनआरएनए टोली । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २६ गते । गैर आवासीय नेपाली संघअन्तर्गतको एनआरएनए स्पोर्ट्स एकेडेमीका कार्यवाहक सदस्य सचिव धर्मराज गिरीले एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये १८ खेलमा सहभागीता जनाउने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, ‘हामीले तयारी तीव्र पारेका छौँ, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं ।’आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टोली आउनेछन् । 

क्रिकेट टोली इङ्ल्यान्बाट आउनेछ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र इङ्ल्यान्डबाट ल्याउने तयारी गरिएको छ ।  बास्केटबलको टोली अस्ट्रेलियाबाट आउने छ । यस्तै, फुटबलको टोली ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएको र उहाँले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टोली बनाउने बताइएको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौँ राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताउनुभयो । विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिनुभयो । 

खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य सचिव गिरीले बताउनुभयो ।