• १० मंसिर २०८१, सोमबार

बहसमा समाजवाद

blog

समाजवादको अर्थ र इतिहासको विश्लेषणका साथै नेपालमा आवश्यक पर्ने समाजवादको स्वरूप कस्तो हुने भन्नेबारे राजनीतिक दलहरूको स्पष्ट धारणा पाउन सकिँदैन । साधारणतया एउटा सामाजिक सङ्गठन, राज्यको राजनीतिक र आर्थिक सिद्धान्तको आधार सामूहिकता एवं सरकारी स्वामित्व मानी उत्पादन एवं वितरण प्रजातान्त्रिक व्यवस्थाद्वारा गरिने प्रणालीमा आधारित व्यवहारलाई ‘समाजवाद’ भन्ने गरिन्छ । यसै गरी वेस्टर्न न्यु कलेजियट डिक्सनरीको सन् १८३६ को प्रकाशनमा समाजवादको अर्थ सामूहिकता वा सरकारी स्वामित्वमा वस्तुको उत्पादन र वितरण प्रजातान्त्रिक तवरबाट गर्ने सिद्धान्तमा आधारित व्यवहार भनिएको छ । यथार्थमा उत्पादनका साधन र तिनीहरूको स्वामित्व तथा व्यवस्थापन राज्यको नियन्त्रणमा हुनु अथवा जे जति उत्पादन हुन्छ, त्यो निजी फाइदाका लागि नभएर सम्पूर्ण समाजका लागि हुनुपर्ने वा गर्नुपर्ने अवधारणा नै समाजवाद हो । 

वर्तमान समयमा समाजवाद शब्दको प्रयोग जथाभाबी वा जुनसुकै र जस्तोसुकै परिवेश एवं परिस्थितिमा इङ्गित गर्ने गरिएको देखिन्छ । समाजवाद ल्याटिन भाषाको ‘सोसियस’ बाट व्युत्पादित शब्द हो, जसको अर्थ समाज हो । चलनचल्तीको भाषामा समाजवाद शब्द प्रयोग हुन पुगेको हो । त्यस समयका विद्वान्हरूको यसमा महत्वपूर्ण भूमिका देखिन्छ । तीमध्ये प्लेटो, सेन्ट साइमन, रोबर्ट, वे प्रुधो, सिसमन्डी आदि थिए । ऐतिहासिकता खोज्ने हो भने माक्र्सको वैज्ञानिक समाजवाद त्यसैको उपज हो, जो पछि विकसित रूप भयो । हामीले इतिहासलाई खोज्ने हो भने माक्र्सको वैज्ञानिक समाजवाद सिद्धान्तपूर्व कुनै न कुनै रुपमा समाजवादसित मिल्दाजुल्दा अवधारणा देखा पर्दै आए । एथेन्समा इपू पाँचौँ शताब्दीमा पाइथागोरस जस्ता चिन्तकले ‘भित्रको स्वामित्व भएको वस्तु सबैको साझा हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैताका क्रिटस जस्ता राज्यमा सार्र्वजनिक जग्गा र सार्वजनिक खेतीको व्यवस्था पाइन्छ । सुरुमा युनानभरि भूमिलाई सामूहिक सम्पत्ति मान्ने चलन थियो । विद्वान् मक्सीका अनुसार प्लेटो समाजवादी र साम्यवादी विचारका प्रथम प्रेरणा स्रोत हुन् । उनले रिपब्लिकमा सबै समाजवादी र साम्यवादी स्रोत पहिल्याउन सकिन्छ भने । इपू ४२०–३४७ यता नै सम्पत्ति र परिवारसम्बन्धी समाजवादी धारणा आएको थियो । मध्ययुगीन विश्वमा भने समाजवादी चिन्तनका विचार त्यति पाइँदैनन् तर पछिल्लो समय सर थोमस मुरे प्रस्ट विचारका साथ देखा पर्छन् । उनले सन् १५१६ मा प्रकाशित युटोपियामा तत्कालीन ब्रिटेनको दरिद्रता र जनसङ्ख्याको विरोधका रूपमा आदर्श समाजवादको कल्पना गर्न पुगे । मुरेको परिकल्पनामा सबै वस्तुमाथि सबैको समान अधिकार रहने कुराले उनलाई काल्पनिक समाजवादका संस्थापक भनिन्छ । 

१८ औँ शताब्दीमा ब्रिटेन र जर्मनीका समाजवादी चिन्तक देखा परे, जसमध्ये ल्यास्ले अविन, फौरियर, मोरिस आदि मानिन्छन् । उनीहरूले समाजवादी चिन्तन परिकल्पना गरे । समाजवादी धारणालाई कसरी व्यावहारिकता दिन सकिन्छ भनेर विश्लेषण भने गरेनन् । मुरेको युटोपियन समाजवाद सरह नै रहेको धारणा सेन्ट साइमनले फ्रान्समा व्यक्त गरेको पाइन्छ । सन् १७६० मा जन्मिएका साइमनले राजनीतिलाई उत्पादनको विज्ञान भनेर व्याख्या गरेका थिए । समाजमा उत्पादक र अनुत्पादक वर्गबिच सङ्घर्ष हुने र त्यस्तो सङ्घर्षमा अन्ततः उत्पादक वर्गका विजय भई त्यसैबाट वर्गविहीन समाज स्थापना हुने र पुँजीपति मासिएर जानेतर्फ उनले भने । 

अर्का समाजवादी चिन्तक प्रुधोको विचारमा सम्पत्तिमा समानता, श्रमिक सङ्घको स्थापना, सार्वजनिक सङ्घ संस्थाको निर्माण, पुँजीको उचित व्यवस्थापन र वितरण, वर्गहीन समाजको स्थापनाले नै समाजवादको स्थापना गर्न सकिन्छ । प्रुधोको विचारलाई अनुसरण गर्दै सिसमन्डीको चिन्तन अगाडि आयो, जसलाई सिसमन्डी सोसियालिजम भनियो । यो विचारले औद्योगिक बिमालाई अगाडि बढाउन जोड दियो । आर्थिक र सामाजिक क्षेत्रमा राज्यको बढीभन्दा बढी हस्तक्षेप हुनुपर्ने तथा काम र विश्रामको अनिवार्य समय तोकिनुपर्नेमा जोड दिइयो । यसले बाल मजदुर निषेध गर्नुपर्ने तर्क पनि अगाडि सा¥यो । 

समाजवादी विद्वान् रोबर्ट ओमनले नयाँ खालको सोचलाई अगाडि सारे । उनको विचारमा दरिद्रता जस्तो अपराध र अन्याय अन्त्य गर्नु राज्यको अनिवार्य विषय बनाए । उनले सहकार्य र सहकारी व्यवस्थाको कल्पना गरेर त्यसलाई व्यवहारमा उतार्न न्यु वर्गनिक गाउँमा इन्डियाना राज्यभित्र एक हजार पाँच सय डलरमा १० हजार एकड जग्गा किनेर बस्ती बसाल्ने, उत्पादन गर्ने समाजवादी सोच प्रयोग गरेर सफलता पनि प्राप्त गरे । 

मानिसद्वारा मानिसमाथि हुने शोषणको पूर्णतः अन्त्य गर्ने एउटा उन्नत राजनीतिक आर्थिक प्रणाली नै समाजवाद हो । समाजवाद यस्तो आर्थिक सामाजिक व्यवस्था हो, जहाँ देशमा सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतः राज्यमा निहित हुन्छ । स्वामित्व भन्नाले उत्पादनका साधन, वस्तुको नियन्त्रण तथा वितरण र व्यवस्थापन आदि पर्छन् । सामाजिक स्वामित्व पनि विभिन्न प्रकारका हुन्छन् । जस्तैः साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा सञ्चालित स्वतन्त्र संस्था पर्छन् । समाजवादी विद्वान्ले यिनैमा टेकेर विविध तरिकाको व्याख्या गरेका छन् । 

समाजवादको पहिलो चिन्तन धारा युटोपियन समाजवाद भन्ने गरिएको पाइन्छ । पूर्वीय सभ्यताको ‘राम राज्य’ पाश्चात्य जगत्मा ‘प्लेटोनिक साम्यवाद’ को अवधारणाले यस्तो समाजवादी चिन्तनको प्रश्रय दिएको पाइन्छ । आधुनिक युरोपमा देखा परेको फवियन समाजवाद कैयौँ विशेषता युरोपेली धारासित मिल्छ । काल्पनिक समाजवादी आध्यात्मिक कम्युन प्रणालीमा समेत विश्वास राख्थे । बौद्ध गुम्बा, चर्च, हिन्दु आश्रमको उद्देश्य निजी सम्पत्तिविहीन जीवन प्रणालीको अभ्यास थियो । 

युरोपेली पुनर्जागरणकालमा समाजवादी चिन्तनको भाव मिठा कल्पना, नैतिक उपदेश, आध्यात्मिक आदर्श, सादा जीवन पद्धति, गृहस्थ जीवन अविश्वासबाट यस्तो काल्पनिक समाजवादको चिन्तन बनेको थियो । प्रुधो, सेन्ट साइमन, चाल्स फुरियर र रबर्ट ओवन थुप्रै युरोपेली चिन्तकले काल्पनिक समाजवादको अभ्यास गरेको पाइन्छ । उनीहरूले कल्पना गरेको समाजवादले पुँजीवादका खराबीबारे तिखो आलोचना गरेको देखिन्छ । उनीहरूले एउटा समतामूलक आर्थिक राजनीतिक प्रणालीको वकालत गरेका थिए तर त्यस्तो प्रणाली निर्माणको अपेक्षा समाजको उत्पादन पद्धतिको जगमा उभिएको थिएन । भावनात्मक दुष्टिले पुँजीपति र सर्वहारा वर्गबिच मेल गराएर आर्थिक अधिकारमा समानता ल्याउने उनीहरूको दृष्टिकोणको मूल मान्यता थियो । कतिपय यस्ता चिन्तक पनि थिए, जसले सर्वहारा वर्गबिनाको पुँजीवादी व्यवस्थाको कल्पना गर्दथे, त्यो सम्भव थिएन । 

काल्पनिक समाजवादीले पुँजीवादी शोषणको राम्रो चिरफार गरेका थिए । त्यसको विकल्पमा वैज्ञानिक बाटो भने देखाउन सकेनन् । यद्यपि काल्पनिक समाजवादीले एउटा उन्नत राजनीतिक आर्थिक प्रणाली र त्यसको बाटो तय गर्न पूर्वाधारको काम भने गरे । पुँजीवादीको गर्भबाट समाजवादी समाजको जन्म हुने हो । त्यसैले सङ्क्रमणको प्रराम्भिक चरणमा पुँजीवादका कैयौँ गुण बोकेको हुन्छ । यद्यपि ती गुण उत्पादन पद्धतिको विकासका क्रममा पैदा भएका अनिवार्य तर अस्थायी गुण हुन् । समाजवादको तीव्र विकासको प्रक्रयाले पुँजीवादका अवशेष क्रमशः अन्त्य हुँदै जान्छन् ।    

Author

वामदेव क्षेत्री