• १ असार २०८२, आइतबार

पूर्वाधार विस्तारसँगै ग्रामीण भेगका बासिन्दाको जीवनशैलीमा सुधार

blog

सतबाज–श्रीभावर सडक विस्तारसँगै बैतडीको पहाडी भेकमा विकास हुँदै गरेको यातायात पूर्वाधार । तस्बिर : केशव राज भट्ट

केशव राज भट्ट 
बाशुलिङ्ग (बैतडी), जेठ ३१ गते ।
सुदूरपश्चिम प्रदेश सरकारको पहलमा निर्माण भइरहेको सतबाज–श्रीभावर–हाट–दार्चुला सडक आयोजनाले बैतडी जिल्लाको ग्रामीण भेगका बासिन्दाको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

विगतमा दसैंतिहार पछि कामको खोजीमा भारत जान बाध्य रहेका सूर्नया गाउँपालिका–७ का धनबहादुर महरा पछिल्लो दुई वर्षदेखि गाउँमै कृषि पेशाबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । सडक पहुँच विस्तारसँगै गाउँमै उत्पादन गरिएको तरकारी बजारसम्म सहजै आपूर्ति हुन थालेपछि महरालगायत कृषकहरू आन्तरिक रोजगारीमा आकर्षित हुन् थालेका छन् ।

‘‘पहिले फलाएको तरकारी बजारमा लैजान नसक्दा खेर जान्थ्यो, अहिले सडक सञ्जाल विस्तार भएसँगै व्यापारीले फोन गरेर बारीबाटै तरकारी मगाउने गर्नुभएको छ’’, महराले बताउनुभयो । गत वर्ष तरकारीबाट करिब दुई लाख रुपियाँ आम्दानी भएको उहाँको भनाइ छ ।

त्यस्तै, सूर्नया–६ मल्लाढोलेका टेकेन्द्र बोहरा पनि सडक पूर्वाधारको विस्तारसँगै लाभान्वित हुनुभएको छ । पहिले सामान ओसारपसारका लागि टाढासम्म हिँड्नुपर्ने बाध्यता हटेको र अहिले थोक व्यापारी आफैँ गाउँमै सामान पुर्‍याउने गरेको उहाँले सुनाउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको २०७५ साल चैत ११ गतेको निर्णयअनुसार प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको यो सडकले बैतडी जिल्लाका मध्य तथा दुर्गम भेगका बासिन्दालाई सुलभ आवागमनको सुविधा उपलब्ध गराएको छ ।

८० किलोमिटर दूरीको सतबाज–दार्चुला सडकखण्डमा हालसम्म ६० किलोमिटरमा नियमित सवारी सञ्चालन भइरहेको छ ।

सतबाज–श्रीभावर ४० किलोमिटर सडकमध्ये ६ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा ४८ करोड ८२ लाख रुपियाँ बजेट विनियोजन भई स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र गतिमा अगाडि बढिरहेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धिरेन्द्र भट्टले जानकारी दिनुभयो । यसैगरी, श्रीभावर–हाट खण्डअन्तर्गत २२ किलोमिटर सडकको ११ किलोमिटर कालोपत्रे कार्य सम्पन्न भएको र बाँकी खण्डको कालोपत्रे कार्य २५ करोड रुपियाँको ठेक्कामा अगाडि बढिरहेको कार्यालयले जनाएको छ ।

सडक सञ्जाल विस्तारसँगै स्थानीयवासीको जीवनशैली सहज भएको सूर्नया–५ का देवसिंह महरा बताउनुहुन्छ, ‘‘सिँचाइको सुविधा भएका ठाउँमा कृषकले व्यवसायीक तरकारी खेती विस्तार गर्नुभएको छ । सानोतिनो कामका लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।’’

पुर्चाैडी–७ कोटिलाकी बागमती ऐरका अनुसार पहिले सदरमुकाम पुग्न दुई दिन लाग्ने गरेकोमा अहिले चार–पाँच घण्टामा नै पुग्न सकिने अवस्था सिर्जना भएको छ । सीमावर्ती झुलाघाटसम्म सहज आवागमन सुरु भएपछि उपभोग्य वस्तु सस्तो मूल्यमा बजारमा ल्याउन सकिने तथा कृषिजन्य वस्तुको सहज बजार व्यवस्थापनसमेत सम्भव भएको स्थानीयवासीले बताएका छन् ।

सडक पूर्वाधारको विकासले ग्रामीण क्षेत्रमा कृषि, पशुपालन र साना व्यवसायको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गर्न मद्दत पुगेको प्रदेश सरकारको भनाइ छ ।