जनार्जन खत्री
सर्लाही, जेठ ३० गते । नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा बर्थिङ सेन्टर भवन निर्माण गरेर नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बर्थिङ सेन्टर भवनको शुक्रबार बिहान नेपाली सेना मध्य पूर्वी पृतना बर्दीवास महोत्तरीका पृतनापति एवम् उपरथि कृष्णबहादुर जिसीले बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाललाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाली सेनाको शीघ्र प्रभावी आयोजनाअन्तर्गत ४५ लाख ९५ हजार रुपियाँ लागतमा भैरवी दल गणले बर्थिङ सेन्टर भवन निर्माण गरेको हो ।
चार कोठे बर्थिङ सेन्टर भवनमा पोष्ट डेलिभरी, प्रि डेलिभरी, क्लिनिकल र रजिष्ट्रेसन तथा फार्मेसी रहेका छन् । भवनभित्र एउटा सानो कोठा (अटो क्लेब रुम) र भवनभित्र तथा बाहिर गरी दुई वटा शौचालय छन् ।
बर्थिङ सेन्टरलाई दुई वटा हस्पिटल बेड, एउटा क्लिनिकल बेड, एउटा डेलिभरी बेड, दुई थान थ्रि–सिटर भिजिटर चेयर, पाँच थान भिजिटल चेयर र दुई थान टेबल समेत प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मध्य पूर्वी पृतनाका पृतनापति एवम् उपरथि जिसीले ग्रामणी भेगका गर्भवतीलाई सुरक्षित हिसाबले प्रसूति गराउने मुख्य उद्देश्यसहित सेनाले भवन निर्माण गरेको बताउनुभयो ।
बरहथवा नगरपालिकाकी प्रमुख कटुवालले आगामी आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले बजेट निर्माणकै चरणमा रहेकाले नवनिर्मित बर्थिङ सेन्टरका लागि प्राथमिकताका साथ आवश्यक जनशक्ति र उपकरणको व्यवस्था मिलाइने बताउनुभयो ।
नगर प्रमुख कटुवालले बर्थिङ सेन्टर सञ्चालनको प्रक्रियामा केही महिना आफ्ना दक्ष चिकित्सक प्रदान गरेर नगरपालिकाले राख्ने स्वास्थ्यकर्मीलाई सहयोगको व्यवस्था मिलाइदिन नेपाली सेनासँग अनुरोध गर्नुभयो । बर्थिङ सेन्टर हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको ९ बाहिनी सिन्धुलीका बाहिनीपती एवम् सहायक रथी युवराज कार्की, भैरवी दल गणका गणपति एवम् प्रमुख सेनानी सूर्यबहादुर कार्की, कालीध्वज गणका गणपति गोबिन्द विष्ट, बरहथवा नगरपालिका–११, का वडाध्यक्ष नवराज राईलगायतको उपस्थिति थियो । बर्थिङ सेन्टर भवन निर्माण गर्ने भैरवी दल गण हाल काठमाडौँको नार्गाजुनमा तैनाथ छ ।