• १३ साउन २०८१, आइतबार

मादक पदार्थ बिक्रीवितरणमा कडाइ

blog

काठेखोला गाउँपालिकाको कार्य क्षेत्रमा खटिएका म्यादी प्रहरी ।

नवीन शिशिर विक
बागलुङ, वैशाख २६ गते ।
जिल्ला प्रशासन कार्यालय बागलुङले मादक पदार्थ ओसारपसारमा कडाइ गरेको छ ।

स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको बाहेक अन्य पादकपदार्थ ओसारपसार, बिक्रीवितरण र सेवन नगर्न सार्वजनिक अपिल गरेको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते रातिको १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मको तोकिएको क्षेत्र बाहेक अन्यत्र मादक पदार्थ बिक्री र सेवनलाई कडाइ गरेको सहायक प्रमख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले बताउनुभयो ।

मतदानको दिन जिल्लाभर एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव बाहन, अस्पताल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा, नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधन र अनुमति लिएका सवारी साधनहरु बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतदान स्थलमा बन्दोबस्तीका सामाग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटेका छन् । निर्वाचनका लागि प्राप्त मतपत्र, मतपेटीकासहितको ६१ प्रकारका सामग्री मतदान अधिकृतलाई हस्तान्तरण गरी सम्बन्धीत ठाउँमा पठाएको निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्लाभर एक हजार ९३० जना कर्मचारी परिचालन गरिएको छ । २३० मतदान केन्द्रमा तीन जनाका दरले ६९० जना स्थानीय स्वयसेवक खटिने छन् । निर्वाचनलाई भयरहित बनाउने मतदान केन्द्रमा शनिबार देखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा दृष्टिले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्थापन मिलाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दयानिधी ज्ञवालीले बताउनुभयो । निर्वाचन सुरक्षाको लागि सात सय नेपाल प्रहरी, ९८३ म्यादी प्रहरी, ३३० सशस्त्र प्रहरी र ५५० जना नेपाली सेना गरी कुल दुई हजार ५६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।