• १६ भदौ २०८१, आइतबार

खेलकुदमन्त्री चौधरीद्वारा रामजानकी रङ्गशालाको निरीक्षण

blog

रङ्गशालाको अवलोकनका क्रममा खेलकुद मन्त्री तेजुलाल चौधरी, मुख्यमन्त्री सतिशकुमार सिंहसहित अन्य सहभागी । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, भदौ १६ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जनकपुरधामको वडा १४ स्थित निर्माणाधीन रहेको रामजानकी रङ्गशालाको निरीक्षण गर्नुभएको छ । 

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजना हुने भएकाले त्यसको तयारी स्वरुप खेलकुदमन्त्री चौधरीको नेतृत्वको टोलीले रङ्गशालाको निरीक्षण गर्नुभएको हो ।

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोजकुमार साहको पनि सहभागिता रहेको थियो । निरीक्षणको क्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालसहितको उपस्थिति रहेको थियो । 

निरीक्षणको क्रममा युवा तथा खेलकुदमन्त्री चौधरीले रङ्गशाला निमार्णका लागि प्रदेश सरकारले डिपिआर तयार गरेर दिँदा बजेटको अभाव हुन नदिने प्रतिक्रिया दिनु भएको थियो । उहाँले वीरगन्जस्थित रहेको नारायणी रङ्गशाला जीर्ण रहेको विषयमा समाचार माध्यममा आएपछि आफूले त्यसको निरीक्षण गर्न आएको बेला जनकपुरधामको रामजानकी रङ्गशालाको समेत निरीक्षण गरेको बताउनुभयो । 

उहाँले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशको वीरगन्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिने बताउनुभयो । निरीक्षणको क्रममा प्रतिक्रिया दिँदै मुख्यमन्त्री सतिशकुमार सिंहले रङ्गशालाको डिपिआर तयार गर्ने काम अघि बढेको बताउनुभयो ।

भौतिक पूर्वाधारमन्त्री सरोज यादवले प्रदेश सरकारले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सोहीअनुसारको बजेट विनियोजन गर्ने बताउनुभयो । निरीक्षण गर्न आउनुभएका मन्त्री चौधरीलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मानोज साहले १७ बिघा क्षेत्रफलमा रहेको उक्त रङ्गशालाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।