काठमाडौँ, भदौ १६ गते। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। निरन्तरताको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन्।
प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्द छन्। आन्तरिकतर्फ इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ। पोखरा विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा काठमाडौँ–पोखरा कुनै पनि उडान भएको छैन। पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ ।
मौसमका कारण भरतपुर, पोखरा र नेपालगन्जको क्षेत्रीय उडान समेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो। यस्तै काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले हाल देशभर आंशिक देखि साधरणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि महाशाखाले पूर्वानुमान गरेको छ।रासस