• १६ भदौ २०८१, आइतबार

बलात्कार आरोपमा तीन पक्राउ

blog

फाइल तस्बिर ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ १६ गते । सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवा पक्राउ परेका छन् । युवतीले शनिबार जिल्ला प्रहरीमा जाहेरी दिएपछि उनीहरू पक्राउ परेका हुन् । 

स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले तालिममा सहभागी गराउने भन्दै युवतीलाई होटल लगेका थिए । झुकाएर होटलमा बन्धक बनाएपछि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टले शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको बताउनुभयो । जाहेरी प्राप्त भएपछि घटनाको अनुसन्धान अघि बढाइसकेको जानकारी दिनुभयो । 

स्थानीयका अनुसार गत भदौ ५ गते कोटहीमाई–५, का मुकेशकुमार चौधरी (कुर्मी) ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटलमा लगेको प्रहरीको भनाइ छ । त्यसपछि भैरहवानजिक बनगाईमा रहेका कोटहीमाई–६ का मनोहर चौधरी र कोटहीमाई–३ का शैलेशकुमार पाण्डेय पनि  होटल पुगेका थिए । 

युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटलमा लगेर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् । अरू सहभागी नदेखेर युवतीले घर फर्किने प्रयास गरेपछि युवाहरूले जबरजस्ती गरेको प्रहरीको अनुमान छ । भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँनजिक ल्याएर छाडेका थिए । 

‘लाजले गर्दा युवतीले घटना लुकाएकी रहिछन्’, कोटहीमाईका एक स्थानीयले भन्नुभयो, ‘दुई दिनअघि मात्र गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार भइरहेको छ ।’

घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए । स्थानीयका अनुसार मुकेश कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् । पाण्डे कोटहीमाई–३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेयका छोरा हुन् । रुपन्देही प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

घटना भदौ पहिलो हप्ताको भए पनि हिजो मात्र पीडितको जाहेरी आएकाले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रजितसिंह राठौरले जानकारी दिनुभयो ।