• ८ जेठ २०८१, मङ्गलबार

नेपाल जिम्बावेविरुद्ध पहिले फिल्डिङ गर्दै

blog

टस गर्दै जिम्बावे र नेपाली टोलीका कप्तान । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख २६ गते । नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आज (सोमबार) नेपालले जिम्बावेविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्न जिम्बावेलाई निम्त्याएको हो । 

मैदान ओसिलो भएका कारण ढिलोगरी सुरु भएको खेल ३३ ओभरमा झारिएको छ । नेपाल जिम्बावेमाथि जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । जिम्बावे पनि नेपाललाई हराएर उपाधि घर लैजानले दाउमा छ । दुई टोलीबीच तीन खेलको सिरिज अहिले १-१ को बराबरी स्थितिमा छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई तीन विकेटले हराएको थियो । 

दोस्रो खेलमा भने नेपालले जिम्बावेलाई नौ विकेटले पराजित गरेको थियो । यसअघि दुई टोलीबीच भएको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो । टी-२० सिरिजमा नेपाल र जिम्बावेले एक एक खेल जितेका थिए । एक खेल वर्षाका कारण स्थगित भएको थियो । 

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । 

नेपालसहित ओमान, युएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।