• १६ भदौ २०८१, आइतबार

मानव बेचबिखनसम्बन्धी कडा कानुन निर्माण हुँदैछ : मन्त्री सुडी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी ।

काठमाडौँ, भदौ १४ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा कडा कानुन निर्माण भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्, एकीकृत हातेमालो समाज नेपाल र आधार नेपालले शुक्रबार काठमाडौँमा संयुक्तरुपमा आयोजना गरेको नेपालमा बालिका बेचबिखन तथा ओसारपसारको बदलिँदो ढाँचाविरुद्धको सामाजिक, सांस्कृतिक र कानुनी उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

मन्त्री सुडीले भन्नुभयो, “२०३४ को कानुनले आजको समाजमा न्याय हुन सक्दैन । सर्वोच्च अदालतका न्यायाधीश लगायत कानुनका जानकारसँग बसेर कानुनको काम गर्दैछौँ । अर्थ मन्त्रालय, कानुन मन्त्रालयबाट स्वीकृत पाइसकेका छौँ । कानुन अलिकति कडा बनेको छ । ह्युमन ट्राफिकिङ्मा परेका दिदीबहिनीका सम्बन्धमा आठ–दश वर्षसम्म पनि फैसला नहुँदा समस्या छ । यस विषयमा कडाइका साथ कानुन निर्माण गर्दैछौं ।”

मन्त्री सुडीले १५ वर्षदेखि ५५ वर्षसम्मका महिला बेचबिखनमा पर्ने गरेको भन्नुहुँदै गरिबी, लागूऔषध सेवन, सामाजिक अवस्था यसका प्रमुख कारण रहेको उल्लेख गर्नुभयो । नेपालको संविधान २०७२ आएपछि यस क्षेत्रमा केही सुधार भएको उहाँको भनाइ छ ।

मन्त्री सुडीले भन्नुभयो, “२० प्रतिशत गरिबीको रेखामुनि रहेको अवस्था छ । २०७२ को संविधान आएपछि सुधार आएको छ कि छैन ? मलाई लाग्छ, २०८१ सम्म आइपुग्दा सुधार आएको छ ।”

माइती नेपालकी सजनी जोशीले सबैभन्दा बढी एसियाबाट बालिका एवम् महिला बेचबिखन हुने गरेको बताउनुभयो । उहाँले यो विश्वको सबैभन्दा बढी नाफामूलक व्यवसाय समेत बनेकोले विगतमा भारतमा मात्र मानव बेचबिखन हुने गरेकोमा अचेल चीन, खाडी मुलुकमा मानव ओसारपसारसम्बन्धी अपराध बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार सन् २०२१ मा २१ वटा मुद्दा दर्ता हुँदा पीडित बालिकाको सङ्ख्या दश थियो । सन् २०२२ मा ३२ वटा मुद्दा दर्ता भएकोमा पीडित बालिकाको सङ्ख्या १२ र सन् २०२३ मा ४५ वटा मुद्दा दर्ता भएकोमा पीडित बालिकाको सङ्ख्या १९ रहेको छ । 

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले कूटनीति नियोगमा प्रहरीको प्रतिनिधि नभएका कारण विदेशमा समेत भइरहेको मानव बेचबिखन सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष भारतबाट मनोरञ्जनात्मक क्षेत्रमा पैसा धेरै कमाइ हुने भन्ने सम्बन्धका ७३ मुद्दा दर्ता भएकोमा १४९ महिला र २० जना बालिका उद्धार भएको छ । चीनबाट विवाहको बहानामा हुने बेचबिखन सम्बन्धमा चार वटा मुद्दा दर्ता भएकोमा चार महिलाको उद्धार भएको छ ।  मध्य–पूर्वी एसियामा घरेलु कामदारको रूपमा पठाउने प्रवृत्ति छ । 

मध्य-पूर्वी एसियाका ८७ मुद्दा दर्ता भएकोमा २३६ महिलालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मिश्रका अनुसार दक्षिण-पूर्वी एसियामा भने कम्प्युटर तथा अङ्ग्रेजी भाषाको ज्ञान भएकालाई नै सामाजिक सञ्जाल, फेसबुक, ट्विटर, ह्वाट्स एप लगायत विभिन्न माध्यमबाट यस किसिमको अपराध बढ्दै गएको छ । दक्षिण–पूर्वी एसियाबाट १६ मुद्दा दर्ता भएकोमा ६ जना महिलाको उद्धार गरिएको छ ।

यस वर्ष मात्रै युरोप ब्युरोमा चार मुद्दा दर्ता भएकोमा तीन पुरुष पक्राउ परेका छन् । 

रुसी सेनामा भर्ना सम्बन्धमा २२ निवेदन तथा दुई मुद्दा दर्ता भएकोमा एक जनाको उद्धार र तीन जना मृत्यु भएको तथ्याङ्क खुलेको छ । अमेरिका अन्तर्गत ब्युरोमा १३ मुद्दा दर्ता भएकोमा दुई महिला र एक पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ । 

मानव तस्करको ढाँचा बदलिँदै गएकोमा यसका नियन्त्रणका लागि कानुनी पक्षलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाको जोड रहेको छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।