• १६ भदौ २०८१, आइतबार

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, भदौ १४ गते। मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद ज्यसवालले बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ। 

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले यूएसएआईडीको सहयोगमा मधेश प्रदेशमा चार वर्षसम्म सञ्चालन भएको ब्रेक थ्रो एक्सन नेपालको वाल विवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि स्थानीय प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका सिकाई र अनुभव साटासाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले बालविवाह हुने प्रदेशमा मधेश पहिलो प्रदेश रहेको चर्चा गर्दै केही बाध्यात्मक परस्थितीका कारण समेत बालविवाह हुने गरेको बताउनुभयो। बालविवाह, दहेज प्रथा जस्ता विकृतिको समाजबाट अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारले समेत यसलाई रोक्नका लागि विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। 

उहाँले समाजमा व्यवहार परिवर्तन नभएसम्म बालविवाहको न्यूनीकरण गर्न चुनौती रहेको भन्दै चार वर्षसम्म सञ्चालन भएको यस परियोजनाले सामाजिक व्यवहार परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले प्रदेशमा बालविवाह रोक्नका लागि कार्यविधि नै तयार भएको भन्दै छलफल पछि कामकाजलाई तीव्रता दिइने जानकारी दिनुभयो। परियोजनाका प्रोजेक्ट म्यानेजर सिर्जना  केसीले यस परियोजनाले के के कारणले बालविवाह हुने गरेको छ र कसले गराउने गरेका छन् भन्ने विषयमा खोज गरेको बताउनुभयो। 

खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलको अध्यक्षतामा भएको सो कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगका प्रतिनिधि जयकृष्ण उपाध्याय सहितकाले परियोजनाले गरेका कामकाजले बालविवाह न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। कार्यक्रममा बालविवाहका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र विभिन्न पालिकाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो।