• ११ असोज २०८१, शुक्रबार

सीमा सुरक्षा बलियो बनाउने सहमति

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), वैशाख २६ गते । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने दुईपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय इलामसहितको सुरक्षा निकायका प्रमुख र भारतको सीमा सुरक्षा बल (एसएसबी)सहित सुरक्षा प्रमुखको बैठकले निर्वाचनका बेला सीमा क्षेत्रमा कुनै प्रकारका अवैध गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो । 

सीमा क्षेत्रबाट निर्वाचन बिथोल्ने गतिविधि हुनसक्ने भन्दै नेपाल र भारतका प्रशासन प्रमुख र सुरक्षा अधिकारीबीच भारतको पश्चिम बङ्गाल राज्यमा दुईपक्षीय वार्ता सम्पन्न भएको हो । इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख सुरेश सापकोटा र भारतको सीमा सुरक्षा बल (एसएसबी)का आठौँ बटालियन कमान्डर मितुल कुमार, एसएसबीका ३६ औँ बटालियन सिक्किमका डेपुटी कमान्डर निरूपेश कुमार र भारतीय भन्सारका अधिकारीबीच दुईपक्षीय वार्ता गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बलियो राख्ने सहमति भएको छ । 

इलामका प्रमुख जिल्ला अधिकारी ढंङ्गानाका अनुसार नेपालको निर्वाचन अवधिभर सीमा क्षेत्रका दुवैतर्फका मदिरा पसल २७ गतेदेखि तीन दिन बन्द गर्ने सहमति भएको छ । यस्तै २७ गतेबाट सीमा नाका सिल (बन्द) भएपछि मानिस र यातायातका साधनसमेत पूर्ण रूपमा बन्द गरिने भएको छ । दूध र सागसब्जीका गाडी भने सुरक्षा निकायको निगरानीमा आउजाउ गर्न दिइने भएको छ । 

प्रजिअ ढुङ्गानाका अनुसार नेपालको निर्वाचनमा सीमा क्षेत्रमा रहेका भारतीय सञ्चारमाध्यमबाट प्रसारण गरिने निर्वाचन सामग्रीमा रोक लगाइने भएको छ । मतदातालाई प्रभावमा पार्ने खालका सामग्री भारतीय सञ्चार माध्यम (एफएम)बाट प्रसारण गरिने भएकाले उक्त सामग्री प्रसारण गर्न भारतीय सुरक्षा निकायले बन्द गराउने भएको छ ।

प्रजिअ ढुङ्गानाले भन्नुभयो, “सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका अधिकारी सहमत भएका छौँ ।” सीमा क्षेत्रमा आउ जाउ गर्ने मानिसको दुवै देशका सुरक्षा निकायले निगरानी गर्न थालेको इलामका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रमा नेपाल प्रहरीको सङ्ख्या थप परिचालन गरिएको जानकारी दिनुभयो । 

इलामको नेपाल–भारत सीमाको ५२ दशमलव ५ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षाको काम गर्दै आएको छ । सशस्त्र प्रहरी इलामका प्रहरी उपरीक्षक सुरेश सापकोटाले स्थानीय निर्वाचन र सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीले संयुक्त गस्ती गर्दै आएको र निर्वाचनभर त्यसलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो । सीमापारि कामको सिलसिलामा गएका नेपाली मतदान गर्नका लागि धमाधम घर फर्किन थालेका छन् । 

आगामी ३० गते हुने निर्वाचनका लागि इलाममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी दुई हजार ९१५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाममा १५१ मतदान स्थल र दुई २८५ मतदान केन्द्र छन् । जिल्ला सुरक्षा समितिले मतदान सकेर राति आठ बजेभित्रमा मतपत्र मतगणना केन्द्रमा ल्याइसक्ने गरी काम गरिरहेको जनाएको छ ।