• १३ भदौ २०८१, बिहिबार

कर्णाली राजमार्गमा पहिरो : सडक खुल्न एक हप्ता लाग्ने

blog

कर्णाली राजमार्गमा गएकाे पहिरो । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, भदौ १३ गते । कर्णाली राजमार्गमा भीषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । बुधबार दिउँसोबाट परेको भीषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ दहिखोला, गगनेखोलादेखि एस मोडसम्म भीषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । 

राजमार्ग बुधवार बेलुका ८ः०० बजेबाट अवरुद्ध भएको भए पनि प्रहरीलाई भने बिहीबार बिहान मात्र जानकारी भएको थियो । दैलेख जिल्लाको आठबिस नगरपालिका ५ खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका १ एस मोडसम्म झण्डै ९ किलोमिटर सडकमा पहिरो गएको छ । पहिरोले उक्त खण्ड पुर्णरुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रुहरू पैदल हिँड्न बाध्य छन् । 

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्स्काभेटर लगाएर पन्छाउने काम जारी रहेको बताउनुभयो । आज र भोली मौसम थप सक्रिय नभएर यताको पहिरो पन्छाउन सकिएला तर ९ किलोमिटर पहिरो भएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिन बढी लाग्ने आफूले अनुमान गरेको बताउनुभयो । 

"म लगायत प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सीमा दहिखोलासम्म पुग्दा सडकको अवस्था निकै दयनीय थियो । सानो योजनाले सडक खुल्दैन, उताबाट सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यालयले कामलाई तीव्रतामा दिएमा एक हप्तापछि सडक खुलाउन सकिन्छ", महताराको भन्नुभयो । गगनेखोलाको पहिरोले सडक पुरै बगाएकाले नयाँ सडकको ट्रयाक खोल्नु पर्नेछ । 

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर वीर बहादुर जी टीले दहिखोलामा रहेको पक्कीपुल बगाएकाले धेरै क्षति पुगेको बताउनुभयो। उहाँले अन्य प्रविधि थप्ने र चार जना जिम्मेवार प्राविधिक खटाएकाले चार दिन भित्र सकिन्छ की भन्ने प्रयासमा रहेको बताउनुभयो । घटनास्थलमा खटिएका कर्मचारीसँग भर्खरै सम्पर्क भएकाले थप क्षतिको विवरण मागिरहेको र सुर्खेत कार्यालयसँग पनि समन्वय भइरहेकाले दुवै तर्फबाट सडक खुलाउने काम हुने जी टीले बताउनुभयो । 

एक हप्तासम्म सडक सुचारु नहुने भएपछि सबै भन्दा बढी समस्यामा बिरामी पर्ने भएका छन् । बिरामीलाई समेत नौ किलोमिटर सडकमा स्टेचरमा राखेर बोक्नु पर्ने भएको छ भने स्याउ व्यापारी पनि समस्यामा पर्ने भएका छन् । जुम्लादेखि स्याउ बोकेका गाडी अहिले कालीकोटको हुल्म बजारमा रोकिएका छन् । एक हप्तासम्म स्याउ ट्रकभित्र रहँदा कुईने त्रास व्यापारीमा छ । पहिरोले राजमार्गको कालीकोट खण्ड प्राय बन्द हुने गरेको छ ।