• २० असोज २०८१, आइतबार

बर्डफ्लुको सन्त्रास

blog

शान्ता अधिकारी

चितवन, वैशाख २६ गते । चितवनमा यतिबेला बर्डफ्लुका कारण कुखुरापालन व्यवसायमा सन्त्रास छाएको छ ।गत माघमा पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु यतिबेला जिल्लाभर फैलिएको छ । केही समययता फैलिएको बर्डफ्लुका कारण हजारौँ कुखुरा नष्ट गरिएको छ भने सयौँ खोर खाली भएका छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभास न्यौपानेका अनुसार अस्पतालको समन्वयमा हालसम्म झन्डै तीन लाखको हाराहारीमा कुखुरा नष्ट गरिएको छ भने छ टनभन्दा बढी दाना, दुई लाखभन्दा बढी अण्डासमेत नष्ट गरिएको छ । उहाँका अनुसार बर्डफ्लुका कारण एउटै फार्मका एक लाख लेयर्स कुखुरा नष्ट गरिएको छ ।

नेपालको पोल्ट्री व्यवसायको झन्डै आधा हिस्सा चितवनमा रहेको छ । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष राजेन्द्र लामिछानेले हाल सार्वजनिक भएकोभन्दा धेरै ठूलो मात्रामा बर्डफ्लुका कारण कुखुरा नष्ट गरिएको स्वीकार गर्नुभयो । यही अवस्था कायम रहने हो भने कुखुरापालन व्यवसाय ध्वस्त हुने उहाँको आकलन छ ।

सङ्क्रमित कुखुरा बिक्री

कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्रीका लागि पठाउने गरेका कारण बर्डफ्लुको सङ्क्रमण छिटो र धेरै क्षेत्रमा पैmलिएको अनुमान गरिएको छ । चितवनमा भित्रिएको बर्डफ्लु असावधानीकै कारण राजधानी काठमाडौँ भित्रिएको हुन सक्ने पनि आशङ्का गरिएको छ ।

पछिल्लो समय बर्डफ्लु देखिएपछि भित्रभित्रै कुखुरा व्यवस्थापन गर्ने यहाँका ठूला फार्मका कारण बर्डफ्लुको सङ्क्रमण भयावह देखिएको हो । यहाँका कृषकले आफूखुसी बर्डफ्लुविरुद्धको भ्याक्सिन प्रयोग गर्ने गरेको भए पनि यस पटक त्यो प्रभावकारी नभएको नाम उल्लेख नगरिदिने सर्तमा एक कृषकले बताए । केही समयअघि चितवनमा सम्पन्न राष्ट्रिय पोल्ट्री दिवस २०७८ को एक कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाली पोल्ट्री व्यवसायीले बर्डफ्लुविरुद्धको भ्याक्सिन लगाउने गरेको विषय ‘ओपन सेक्रेट’ रहेको बताउनुभएको थियो ।

सरकारी उच्च अधिकारीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विष्टले व्यवसायीले बर्डफ्लुविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृति दिन अनुरोध गर्दा सरकारले विदेशमा उत्पादन पठाउन नमिल्ने भन्दै नमानेका कारण लुकीचोरी भ्याक्सिन ल्याउने गरिएको खुलासा गर्नुभएको थियो । 

देशकै माग धान्न सकिरहेको छैन, विदेश पठाउने नाममा सुरक्षा उपाय अपनाउन नपाएका कारण व्यवसायीले अवैध तरिकाले भ्याक्सिन ल्याउने गरेको उहाँले बताउनुभयो । बर्डफ्लुबाट भएको क्षतिपूर्तिमा हुने ढिलाइ र क्षतिपूर्तिको नाममा दिइने राहत ज्यादै कम भएको बताउँदै आएका चितवनका ठूला व्यवसायीले सरकारी निकायलाई थाहै नदिई कुखुरा नष्ट गर्ने गरेको पाइएको छ ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले नेपालमा भ्याक्सिनको अनुमति नदिँदा ठूलो नोक्सान बेहोर्नुपरेको बताउनुभयो । राज्यले तत्काल सम्बोधन गर्न नसके आत्मनिर्भर बनेको यो व्यवसाय धराशायी बन्ने पोख्रेलको भनाइ छ । निजी क्षेत्रबाट स्थापित यस व्यवसायमा नेपालमा एक खर्ब ५० अर्ब रुपियाँभन्दा बढी लगानी भएको अनुमान छ ।