• ४ पुस २०८१, बिहिबार

रेल लिक वरपर घेरबार

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, भदौ १३ गते । न्यारोगेजदेखि ब्रोडगेज हुँदै आधुनिकतातिर लम्कँदै गरेको नेपालको पहिलो र एक मात्र रेल जयनगर–जनकपुरधाम–बिजलपुरा हो । करिब अढाई वर्षदेखि सञ्चालनमा आएको नेपाली रेलले नेपाल तथा भारतका जनतालाई खुसी दिएको छ भने आवतजावत गर्नेलाई सहजसमेत बनाएको छ । रेल सञ्चालनपछि कतिले रोजगारी पाएका छन्, कतिको व्यापार फस्टाएको छ तर करौडौँ खर्चेको रेल र रेलमा सवार यात्रुको सुरक्षाका लागि नेपाल रेलवे कम्पनी र रेलवे विभागले अहिलेसम्म कुनै कदम चालेका छैनन् ।   

अझै रेल सेवा सञ्चालनपछि दिनप्रतिदिन दुर्घटना हुने समस्या बढ्न थालेपछि सुरक्षाका निम्ति रेलवे विभागले जयनगर–जनकपुरधाम–बिजलपुरा रेलवे लिकको दुवैतर्फ तारबारका लागि फलामको खम्बा भने लगाइएको छ । रेलको ट्र्याकमा परेर पटक पटक मानवीय क्षति भइरहेको घटनालाई दृष्टिगत गर्दै विभागले पहिलो चरणमा जनकपुरधाम क्षेत्रलाई समेट्ने गरी रेलको लिक घेर्ने जनाएको छ । अहिले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि वंशी चोकसम्मको लिकको दुवैतर्फ तारजाली घेर्न फलामको पिल्लर गाड्ने कार्य भइरहेको छ ।

रेलवे लिकको दुवैतिर गाडिएको फलामको पिल्लरमा तारजाली लगाएपछि अचानक रेल लिकमा मान्छे तथा पशु जाने समस्या कम भई दुर्घटनामा पनि न्यून हुने रेलवे विभागका सिनियर डिभिजनल इन्जिनियर (एसडिई) कमल शाहले  जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाका लागि सहरी क्षेत्र र बढी भिडभाड हुने क्षेत्रमा रेलवे लिकलाई दुवैतर्फबाट घेरबार लगाउनका लागि तयारी गरिएको छ । सुरुवाती चरणमा विशेष गरी जनकपुरधाम क्षेत्रलक्षित तारबार लगाइने छ भने पछि अन्य स्थानका लिकमा पनि लगाइने छ । उहाँले भन्नुभयो, “पटक पटक मानव र जीवजन्तु लिकमा पर्ने हुँदा सुरक्षाका लागि घेरबार गर्न लागिएको हो, विशेष गरी मानवीय क्षति रोक्न पनि घेराबर गर्न थालिएको हो, यसले रेल सञ्चालनमा कुनै बाधा पुग्ने छैन र रेल चल्दाचल्दै लिकमा मानिस र चौपाया आएर दुर्घटना हुने समस्यालाई पनि कम गर्न मद्दत गर्ने छ ।” बजेट अनुसार अन्य स्थानमा पनि तारबार लगाइने उहाँको भनाइ छ । 

गुड्ने बेलामा हतारमा रेल चढ्न खोज्दा र रेल आइरहेका बेला लापर्बाही गरेर बाटो काट्न खोज्दा दुर्घटना बढेको हो । लापर्बाही नरोकिने र दुर्घटनाको व्रmम बढेपछि नेपाल रेलवे विभागले बढी भिडभाड हुने क्षेत्रमा रेलवे लिकलाई तारबार थालेको हो । यता नेपाल रेलवे कम्पनी लिमिटेडका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भन्नुभयो, “तारजालीले मात्र दुर्घटना कम हुँदैन, दुर्घटना कम गर्नका लागि जनतामा जनचेतना फैलाउन जरुरी छ । अझै तारजालीले रेल सञ्चालन र मर्मतमा समस्या हुने सम्भावना देखिन्छ । त्यस कारण रेलसम्बन्धी जनचेतना जगाउन अति आवश्यक छ ।”

रेल सञ्चालनको तीन वर्ष पूरा नहुँदै रेल गुडिरहेका बेला चिप्लिएर र किचिएर तीन जनाको मृत्यु भएको छ भने नौ जनाको अङ्गभङ्ग भएको छ । २०७८ चैत १९ गते शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा रेल सेवा सञ्चालनको उद्घाटन गर्नुभएको थियो । रेल सेवा सञ्चालनको तीन वर्ष पूरा हुन लाग्दा रेल अझै पनि कम्पनीलाई हस्तान्तरण गरिएको छैन भने उक्त रेल सुरक्षाका लागि गरिनुपर्ने बिमासमेत हुन सकेको छैन ।

नेपालले २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखको रुपियाँ लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन आएको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो । जयनगरदेखि बर्दीबाससम्म ६९ किलोमिटरको दुरीमा रेल सञ्चालन गर्ने गरी तयारी भए पनि विभागले पहिलो चरणमा जनकपुरधाम–जयनगर खण्डको ३५ किलोमिटरमा मात्र सञ्चालनमा ल्याएको थियो भने अहिले महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको छ ।