• ४ पुस २०८१, बिहिबार

भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण

blog

नवराज कट्टेल

विराटनगर, पुस ४ गते । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ जेठ २४ गतेदेखि आधिकारिक समितिविहीन बनेको थियो । 

सरकारले २०८१ जेठ ३० गते सञ्चालक समिति सदस्य नियुक्त गरेपछि २०८१ असार ५ गते राजेन्द्र कार्की अध्यक्ष चयन हुनुभएको थियो । अध्यक्ष कार्कीका अनुसार सरकारले टीकाराज ढकाल, सेयर सदस्यबाट मुकुन्द नेपाल र वाणिज्य कार्यालय विराटनगरका प्रमुख तथा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख पदेन सदस्य रहने गरी सञ्चालक नियुक्त गरेको थियो । 

सञ्चालक समितिले २०७५ सालदेखिको आन्तरिक लेखापरीक्षणको काम अन्तिम चरणमा पु¥याएको छ । सञ्चालक समितिलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीनवटा कार्यदेश दिएको थियो । जसमध्ये लेखा परीक्षण गराउने, सम्पति संरक्षण तथा व्यवस्थापन गर्ने र साधारण सभा सम्पन्न गरेर जुट मिल सञ्चालन कार्यविधि तयार पार्ने रहेका छन् । 

अध्यक्ष कार्कीका अनुसार आन्तरिक लेखा परीक्षण सकेपछि महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षक तोकेर पठाउँछ । त्यसले जुट मिलको अन्तिम लेखा परीक्षण प्रतिवेदन तयार पार्ने छ । 

सरकारको ५० प्रतिशतभन्दा बढी सेयर रहेको उद्योगको लेखा परीक्षण महालेखा परीक्षण कार्यालयले तोकेको लेखा परीक्षकबाट हुने प्रावधान छ । जुट मिलमा सरकारको ६८ प्रतिशत सेयर कायम भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदा ताका नै जीर्ण उद्योग सञ्चालनका विभिन्न मोडालिटीबारे अध्ययन सुरु गरिएको थियो । त्यसबेला नै भारतीय कम्पनीलाई जुट मिल सञ्चालन गर्न दिने भन्दै प्रारम्भिक अध्ययन भएको थियो । भारतको टाटा बिडला कम्पनीले जुट मिलको १५ दिनसम्म विज्ञ समूहमार्फत अध्ययन सकेको छ । त्यसबाहेक भारतको जलान ग्रुप अफ इन्डस्ट्रिज र विनसन इन्टरनेसनल कम्पनीले समेत अहिले जुट मिल सञ्चालनका लागि चासो दिएर अध्ययन गरिरहेको कार्कीले जानकारी दिनुभयो । 

जुट मिलको स्वामित्वमा रहेको बहुमूल्य जग्गाबाहेक अब अन्य मेसिनरी थोरै मात्रै काम लाग्ने छन् । २०७८ सालपछि जुट मिलमा आधिकारिक समिति नहुँदा पप्पु नाम गरेका एक व्यक्तिले संरक्षणका नाममा १० जना सुरक्षाकर्मी राखेर रेखदेख गर्दै आएको दाबी गरेका छन् । नयाँ समिति नियुक्त भएपछि व्यक्तिगत तवरको यो रेखदेखलाई हटाइएको कार्कीले जानकारी दिनुभयो । अहिले जुट मिलमा १० जना कर्मचारी राखिएको छ । जसमा लेखा तथा प्रशासन प्रमुखको रूपमा श्याम लाखे, सहायक लेखापाल, कार्यालय सहयोगी र छ जना सुरक्षा गार्ड राखिएको छ । 

जुट मिल अहिले आम्दानीविहीन छ । जुट मिल परिसरमा बनेका घरटहराबाट उठ्दै आएको भाडासमेत दिन छोडेका कारण आर्थिक सङ्कटमा रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । दमकमा रहेको जुट गोदाम भाडामा लगाएकाले त्यहाँबाट आउने मासिक ७० हजार रुपियाँ मात्रै आम्दानीमा बाँधिने स्रोत मानिएको छ । 

विराटनगर जुट मिलको क्वाटर तथा परिसरका पसलको भाडा उठ्दा भने मासिक चार लाख रुपियाँ आम्दानी हुने छ । त्यसैको भरमा कर्मचारी नियुक्त गरिए पनि अहिले उद्योगको जग्गामा बनेका घरटहरामा सञ्चालित पसलका धनीले भाडा नबुझाउने भनेर अड्डी कस्ने गरेका छन् । 

विराटनगर जुट मिलले चर्चेको ४९ बिघा जग्गाबाहेक परिसरमा १७ बिघा जग्गा रहेको छ । विराटनगर जुट मिलको ६६ बिघा १० कट्ठा १९ धुर जग्गा अहिले पनि देखिन्छ । त्यसबाहेक दमक नगरपालिकामा नौ कट्ठा सात धुर जग्गा रहेको छ । दमकमा पुरानो जुट गोदाम अहिले भाडामा लागिरहेको छ ।