• २० असोज २०८१, आइतबार

आर्थिक मुद्दा प्राथमिकतामा

blog

तिलोत्तमा नगरपालिकाका गठबन्धनका उम्मेदवार र नेता संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गर्दै । तस्बिर : छवि पाण्डे

बुटवल, वैशाख २६ गते । आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारले आर्थिक मुद्दालाई प्राथमिकता दिएका छन् । उम्मेदवारले जारी गरेका प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, करमा छुट, सीप विकास, उद्योग व्यापार तथा पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् ।बुटवल उपमहानगरपालिकाका उम्मेदवारले हाटबजारमा लाग्दै आएको करमा आधा छुट, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाले व्यवसाय गर्न चाहे पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । 

गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेले बुटवललाई आर्थिक राजधानी बनाउने गरी बजारमा विभिन्न पेसा व्यवसाय गर्नेलाई नगरपालिकाको करमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाउनुभएको छ । 

नेकपा एमालेका तर्फबाट बुटवल उपमहानगरको प्रमुखका उम्मेदवार बाबुराम भट्टराईले बुटवललाई लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र बनाउनेदेखि उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकासमा पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले बुटवलका बेरोजगार युवाको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम प्रदान गरेर स्वरोजगार बनाउने, व्यवसाय गर्न चाहनेलाई करमा छुट दिने, कोभिड–१९ का कारण व्यवसायमा घाटा बेहोरेका व्यवसायीलाई प्रोत्साहन दिनेलगायतका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । 

रुपन्देहीकै सैनामैना नगरपालिकाका प्रमुखको उम्मेदवार नेपाली काँग्रेसका फणेन्द्रप्रसाद शर्माले नगरभित्र वार्षिक तीन सय रोजगारी सिर्जना गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सैनामैनाकै नेकपा एमालेका उम्मेदवार चित्रबहादुर कार्कीले सैनामैनामा विदेशबाट लगानी भिœयाएर उद्योगमैत्री सैनामैना बनाउने प्रतिबद्धता जनाउनुभएको छ । 

सैनामैनाबाटै नेकपा एमालेबाट उपप्रमुख उम्मेदवार बिना रानाले बेरोजगार युवतीका लागि स्वरोजगारका कार्यक्रम आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।  यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनका तर्फबाट जारी प्रतिबद्धतामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाणले करको दायरा फराकिलो बनाई एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

तिलोत्तमा नगरमा एक वडा एक हाटबजार कृषि उत्पादन खरिद बिक्री योजना लागू गरिने गठबन्धनको संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख छ ।पाँच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता गरिनुका साथै एक वर्षसम्म स्थानीय कर छुट दिने प्रतिबद्धतापत्रमा उल्लेख छ । यसले युवा लगानीकर्ता र कम पुँजी भएका लगानीकतालाई थप उत्साहित बनाउने उम्मेदवार खाणको भनाइ छ ।