• १९ असार २०८१, बुधबार

निर्वाचनविरोधी गतिविधि गर्नेलाई कारबाही

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, वैशाख २६ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर राति ८ बजेपछि मदिरा बिक्रीमा रोक लगाएको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन र स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै शनिबार रातिबाट अर्को सूचना नभएसम्म जिप्रकाले मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाएको हो । 

जिप्रकाले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न र गराउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्दै आचारसंहितामा तोकिएअनुरूपका झन्डालगायतका निर्वाचन प्रचारप्रसारका सामग्री प्रयोग गर्न भनेको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले शनिबार सूचना जारी गर्दै साँझ ७ बजेपछि कुनै किसिमका निर्वाचन प्रचारप्रसार कार्य नगर्न आग्रह गर्नुभएको छ। 

ठूलो आवाजमा माइकिङ गरी ध्वनि प्रदूषण गर्ने कार्य तत्काल बन्द गर्न, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगायतलाई लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, भ्रामक सूचना र निर्वाचनविरोधी सन्देश प्रवाह गर्ने कार्य नगर्न/नगराउन सूचनामा भनिएको छ।  

साथै प्रशासनको सूचनाविपरीतका कार्य, प्रचलित कानुन तथा निर्वाचन आचारसंहिताविपरीत कार्य एवं निर्वाचनविरोधी गतिविधि भएको र गरिएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने मकवानपुर प्रशासनले चेतावनी दिएको छ।