• १४ भदौ २०८१, शुक्रबार

सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय पर्यटकको आकर्षण

blog

बागलुङमा निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, भदौ १२ गते । बागलुङ नगरपालिका ४ को कुँडुले फेदीमा स्थापना गरिएको शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । यहाँ भारतीय धार्मिक पर्यटकहरु शालिग्रामको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् । 

कालिगण्डकी नदीमा पाइने दुर्लभ शालिग्रामको संरक्षण र धार्मिक महोत्वका बारेमा चेतना जगाउने उद्देश्यले पाँच वर्षअघि करिब ६ करोड रुपियाँ खर्चिएर सुरुङ निर्माण गरी शालिग्राम सङ्ग्रहालयको स्थापना गरिएको थियो । यहाँ सङ्ग्रहालयका साथै मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम र तिरुपति बालाजी धाम निर्माण गरिएको छ । 

एकसय फिट लामो सुरुङभित्र स्थापना गरिएको सङ्ग्रहालयमा विभिन्न स्वरुप र आकृतिका सवा लाख शालिग्राम अवलोकन गर्न राखिएको छ । सङ्ग्रहालयको प्रवेशद्वार कलात्मक शैलीमा बाघको आकृति निर्माण गरिएको छ । शालिग्राम संरक्षण तथा महत्वलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वर्गीय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालयको नामकरण गरिएको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । 

शालिग्राम राख्नका लागि एकसय फिट लामो सुरुङ निर्माण गरिएको छ । करिब ४० वर्षदेखि सङ्कलन गरिएका सवा लाख शालिग्रामलाई यहाँ संरक्षण गरेर राखिएको छ । सङ्ग्रहालय परिसरमा विद्याश्रम संस्कृति पाठशाला पनि सञ्चालन गरिएको छ । 

मुस्ताङको मुक्तिनाथ, बागलुङ कालिका र पञ्चकोट भ्रमणमा आउने धार्मिक पर्यटकहरु शालिग्राम सङ्ग्रहालयको अवलोकनमा आउने गरेको तिरुपति बालाजी धाममा बस्ने भक्त डण्डपाणि उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यहाँ भारतीय धार्मिक पर्यटकहरु धेरै आउने गरेका छन् । गत वर्षको असार देखि कार्तिक महिनासम्म दैनिक ५० देखि एकसय जनाको हाराहारीमा भक्तजन आएका थिए । हालै मात्र तनहुँमा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेपछि यहाँ आउने भक्तजनको सङ्ख्यामा पनि कमी आएको छ ।’’ 


सङ्ग्रहालयभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको एकै ठाउँमा बनाइएको आकृतिले भक्तजनलाई आकर्षित गर्ने गरेको सङ्ग्रहालयका कर्मचारी सिर्जना शर्माले बताउनुभयो । सङ्ग्रहालयभित्र जानका लागि एकसय रुपियाँको टिकट लिनुपर्ने उहाँको भनाइ छ । 

मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन शालिग्राम सङ्ग्रहालयमा आउने गरेको कर्मचारी शर्माले बताउनुभयो । करिब दश करोड रुपियाँ खर्च गरेर शालिग्राम सङ्ग्रहालय, वरपरका मठ मन्दिर र अन्य धार्मिक संरचना निर्माण गरिएको छ ।