• १३ पुस २०८१, शनिबार

सतीदेवी : पितृसत्तालाई कुरी कुरी

blog

काठमाडौँ, भदौ १२ गते । ‘पितृ तार्ने एउटा छोरा चाहिन्छ’ भन्ने पितृसत्तात्मक समाजको सोचको कथा हो, चलचित्र ‘सतीदेवी’ । छोरा खोज्दाखोज्दै छोरी जन्मिएपछि घरमा सुरु हुने अवहेलना र महिला हिंसाको चित्रण हो, चलचित्र । लमजुङको एउटा विकट गाउँमा छोरी भएर जन्मिएका कारण उनीमाथि हुने अवहेलना र अत्याचारले के कस्तो घटना निम्त्याउँछ भन्ने कथा चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा एउटी महिलाले छोरो नजन्माउँदा कतिसम्म सास्ती भोग्नु पर्छ र परिवारमा बुवाले आफ्नो दायित्व बिर्संदा छोरीले समाजमा कतिसम्म अपमानित हुनु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ । 

चार वटा छोरी पाएकी सतीदेवीकी आमा अझै गर्भवती नै छिन्, त्यो पनि उनको श्रीमान्लाई पाँचौँ सन्तान छोरा जन्मन्छ भन्ने ठुलो आशा छ । परिवारमा एउटा छोरो नजन्मेकै कारण अनेकन बाधा अडचन आइपरिरहन्छन् । एउटी महिलाले छोरा जन्माउन नसक्दा उनको पूरै जिन्दगी नारकीय अवस्थामा परिणत भएको हुन्छ । बाबुले आफ्नो दायित्व बिर्संदा परिवारले समाजमा कतिसम्म सास्ती भोग्नु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ । 

सतीदेवी अधिकारी (मलिका महत) जो घरकी जेठी छोरी हुन्छिन् र उनको काँधमा नै सबै जिम्मेवारी थपिएको हुन्छ । पितृसत्तात्मक सोचबाट उनको परिवार र समाज धेरै नै ग्रसित छ । परिवारमा एउटा छोरो नभएकै कारण सतीदेवीका बुवा श्रीमतीले छोरी मात्रै जन्माइरहिन् भनेर दिनहुँ श्रीमती कुट्ने, जुवा खेलेर सर्वस्व स्वाहा पार्नु, रक्सी पिउने गर्छन् । यता सतीदेवीकी आमा (सिर्जना अधिकारी) को बाध्यता र भोगेको यातना पनि कम पीडादायी देखिँदैन । बाल्यकालमा नै बिहे गर्नु, छोरी जन्माएकै कारण श्रीमान्को हिंसा सहनु, समाजको तथानाम सुन्नु उनको जीवनका भोगाइ हुन् । लैङ्गिक भिन्नताको सवालमा हाम्रो समाज अझै कहाँ छ ? भन्ने कुरा चलचित्रमा देखिन्छ ।  

चलचित्र मध्यान्तरसम्म सलल बगेको पानी जस्तै बग्छ तर मध्यान्तरपछि केही दृश्य लामा लाग्न थाल्छन् । चलचित्रका केही दृश्यले दर्शक रुवाउने नै छ । सतीदेवीले घरमा छोरा नजन्मिएर फेरि छोरी जम्मिएपछि बुवाले आमालाई मार्छन् भन्ने डर अर्काको छोरा चोरी गरेको दृश्य र सतीदेवीलाई कालो मोसोसहित जुत्ताको माला लगाएर डाँडो कटाएको दृश्यले दर्शकलाई अवश्य नै भावुक बनाउँछ । सतीदेवी गाउँबाट लखेटिएपछि काठमाडौँ पुग्छिन् जहाँ उनले होटेलमा भाँडा माझ्नेदेखि यौनधन्दा जस्ता गतिविधि गर्न बाध्य हुन्छिन् । मध्यान्तरपछिको चलचित्रको यी दृश्यले दर्शकको भावनालाई अवश्य नै बिथोल्ने काम गर्छ । यसले हाम्रो नेपाली समाजको चेतनास्तर कहाँ पुगेको रहेछ भनेर सोच्न बाध्य बनाउँछ । 

निर्देशक लक्ष्मण सुवेदीले अघिल्ला चलचित्र ‘एउटा साथी’ र ‘लालजोडी’ बाट खासै चर्चा बटुल्न नसके पनि यो चलचित्रबाट उनको निर्देशकीय पक्ष तिखारिएको पाइन्छ । दर्शकलाई चलचित्रको माध्यमबाट कसरी भावुक बनाउन सकिन्छ भन्ने जुक्तिमा सुवेदी सफल भएका छन् । उनले चलचित्रमा दर्शक रुवाउनेदेखि यौनका विषयलाई नजानिँदो ढङ्गबाट पस्किएका छन् । निर्देशक सुवेदीले चलचित्रको छायाङ्कन र कोरियोग्राफीमा खासै ध्यान दिएको देखिँदैन । त्यसैले पनि चलचित्रभित्र यी दुवै कुरा धेरै ठाउँमा खस्किएका देखिन्छन् । प्रमुख भूमिकामा देखिएकी नायिका मलिका महत नै चलचित्रको महत्वपूर्ण पात्र हुन् । अभिनयको हिसाबले अन्य चलचित्रभन्दा उनले यसमा भरपुर मेहनत गरेकी छिन् । उनको अभिनय वास्तवमै तारिफयोग्य छ । मलिकापछि चलचित्रमा बालकलाकार हर्षिका वलीले बिर्सनै नसक्ने अभिनय कौशलता देखाएकी छिन् । उनले बोल्ने संवाद शैलीदेखि लिएर हरेक कुरामा खोट लगाउने ठाउँ छैन । कलाकार रमेश बुढाथोकीले अनुहार बिगारेर भन्ने गरेको ‘आमाछोरीको ऐँचो पैँचो, बाउछोराको लेनदेन’ थेगो र कलाकार सिर्जना अधिकारी, सुजिता शिवाकोटी, मन्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, भोला सापकोटाको अभिनयले चलचित्रलाई माथि उठाउने काम गरेको छ ।