• १० भदौ २०८१, सोमबार

तीन गुणाले बढ्यो विद्युत् खपत

blog

काठमाडौँ, भदौ १० गते । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणाले बढेको देखिएको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत छ अर्ब ५१ करोड युनिटले वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो । 

गत आवमा सबैभन्दा बढी गार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको प्राधिकरणले जनाएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा चार सय युनिट पुगेको छ । 

आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणको तथ्याङ्क छ । आठ वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकोमा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको बताउनुभयो । “ठुला तथा साना उद्योगले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ,” उहाँले भन्नुभयो, “निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएकाले आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ ।” उहाँले आन्तरिक रूपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो । 

आव २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३/७४ मा २८.४७ विन्दुले बढी चार अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४/७५ मा विद्युत् खपत पाँच अर्ब ५६ करोड, २०७५/७६ मा छ अर्ब ३० करोड युनिट, २०७६/७७ मा छ अर्ब ४२ करोड, २०७७/७८ मा सात अर्ब २८ करोड युनिट भएको थियो । 

यसै गरी आव २०७८/७९ मा आठ अर्ब ८४ करोड, आव २०७९/८० मा नौ अर्ब ३५ करोड र आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट विद्युत् खपत भएको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो । 

गत आवमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९/८० को तुलनामा ११.३४ प्रतिशतले वृद्धि भएको थियो । गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो । उक्त दिन पिक डिमान्ड दुई हजार २१२ मेगावाट पुगेको थियो ।