• ९ भदौ २०८१, आइतबार

छाडा पशुचौपाया व्यवस्थापन सुरु

blog

छाडा पशु चौपायालाई जम्मा गरेर काञ्जीहाउसमा लगिँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ९ गते । नेपालगन्ज उपहानगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन सुरु गरेको छ । छाडा चौपायाकै कारण सडकमा आवागमन गर्न समस्या हुँदै गएको र दुर्घटनाहरु समेत हुन थालेको जनगुनासोपछि व्यवस्थापन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको हो । 

नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले वर्षाको समयमा सडकमा छाडा पशुचौपायाको सङ्ख्या बढ्ने गरेकोले ती पशुचौपायालाई धपाउँदै काञ्जीहाउस पुर्याएर व्यवस्थापन गर्न सुरु गरिएको बताउनुभयो । उहाँले सोही क्रममा नगरमा छाडा छाडिएका ६४ वटा पशु चौपायालाई वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा पुर्‍याइएकाे बताउनुभयो । 

जथाभावी पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि उनीहरुलाई सडक र चोकबाट हटाउने कार्य सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । शनिवार काञ्जीहाउस पुर्याईएका पशुहरुमध्ये ५२ वटा गाईगोरु र १२ वटा घोडा रहेको उपमहानगरका नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याउन सुरु गरेको बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । उपमहानगरका मेयर विष्टले आ आफ्ना पशुचौपाया घरमै बाँध्न अनुरोध गर्नुभएको छ । उहाँले पशुचौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ । मेयर बिष्टले थप्नुभयो, "छाडा चौपायाको दिसाले गर्दा सडक कुरुप बनेको छ, दुर्घटनाको जोखिम पनि बढेको छ, सम्बन्धित पशुधनीले अझैै सडकमा पशु छाड्ने गरेका छन्, सबैलाई मेरो आग्रह छ, पशुचौपाया घरमै बाँधौं अन्यथा हामी कडा कारबाही गर्न बाध्य हुनेछौं ।"

खुला सीमानाका कारण पनि नेपालगन्जमा छाडा पशुचौपाया ब्यवस्थापनमा चुनौती थपिएको उपमहानगरपालिकाले जनाएको छ । वर्षाको समयमा भारतीय क्षेत्रबाट छाडा पशु चौपाया ठुलो सङ्ख्यामा नेपालतर्फ छिराइने गरिएको छ । जसले गर्दा नेपालगन्जमा छाडा चौपायाको समस्या ज्युँका त्युँ रहने गरेको छ ।