• १२ मंसिर २०८१, बुधबार

आठ वर्षमा पचासी प्रतिशत सम्पन्न

blog

शालिग्राम नेपाल 

चितवन, भदौ ९ गते । चितवनको टाँडीमा निर्माण कार्य सुरु गरिएको रत्ननगर सभा हल आठ वर्षमा पचासी प्रतिशत काम सकिएको छ । चितवनमै पहिलो पटक छ सय जना क्षमताको सभा हल निर्माण गर्ने उद्देश्यले २०७३ कात्तिक ५ गते दुई वर्षमा निर्माण पूरा गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि निर्माणको गति भने ज्यादै सुस्त हुँदा सम्पन्न गर्न अझै समय लाग्ने भएको छ । रत्ननगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा निर्माणाधीन सभा हलले पालिकाको आवश्यकता पूरा गर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले बताउनुभयो । 

“धेरै लामो समयदेखि हामी सभा हल निर्माण पूरा गर्ने पहलमा छौँ तर सकिएको छैन,” उहाँले भन्नुभयो, “बैठक, सार्वजनिक कार्यक्रम, ठुला सभा, सम्मेलन गर्न आवश्यकता महसुस भएको छ ।” १८ करोड ७३ लाख ७८ हजार २२५ रुपियाँको लागतमा निर्माण हुने कामको ८५ प्रतिशत सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । यो ठेक्का सम्झौता भएपछि यसले पुग्दैन भनेर एक हजार जना अट्ने सभा हल सौराहामा निर्माण गरिएको छ । 

“छ सय जना क्षमताको कार्यक्रम गर्नका लागि रत्ननगर सभा हल उपयुक्त हुने छ, कार्यालय प्रमुख थापाले भन्नुभयो, “त्यसभन्दा धेरै क्षमताको आवश्यक परेमा जिल्लामा अन्य दुई वटा सभा हल रहेका छन्  । एउटा निर्माण पूरा भइसकेको छ भने जिल्लामा सबैभन्दा धेरै दुई हजारभन्दा धेरै क्षमताको सभा हल भरतपुरमा निर्माणाधीन छ ।” 

तीन पटक म्याद थप भइसकेको भए पनि थपिएको समयमा समेत निर्माण पूरा नभएपछि फेरि अन्तिम पटक म्याद थपको प्रक्रिया अगाडि बढेको आयोजना कार्यालयले जानकारी दिएको छ । बहुवर्षीय ठेक्का प्रणालीमा सङ्घीय सरकारको लगानीमा निर्माण हुँदै गरेको सभा हल, पार्किङ र खुला स्थान गरेर १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । निर्माण पूरा भएपछि स्थानीय सरकारलाई हस्तान्तरण गरिने छ । रत्ननगर नगरपालिकामा यो सभा हल निर्माण पूरा भए दुई वटा सभा हल हुने छन् । सौराहामा रहेको सभा हल एक महिनाअगाडि नै निर्माण पूरा भएर उद्घाटनको तयारीमा छ ।