• ९ भदौ २०८१, आइतबार

पहिरोका कारण अरनिको राजमार्ग र मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध

blog

पहिरो आई अवरुद्ध बनेको जिरो किलो मेलम्ची सडक खण्ड । तस्बिर सौजन्य: जिप्रका काभ्रे

केदार तिमल्सिना 

बनेपा, भदौ ९ गते ।अविरल वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग र जिरो किलो मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिवार राती देखी परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको दोलालघाट बन्देउ खण्ड र हेलम्बु सडकको जिरो किलो फेदी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत भुम्लु गाउँपालिका ८ बन्देउ डाँडामा आइतबार बिहान करिब साढे ४ बजेको समयमा राजमार्गमाथिबाट सुख्खा पहिरो सहित रुख ढली बाटो दुबैतर्फ अवरोध भएको जनाएको छ । प्रहरीले अरनिको राजमार्गमा भएको अवरोध हटाउनका लागि स्थानीय तहसँग समन्वय भए पनि पहिरो।आइरहेकोले पहिरो हटाउने काम सुरु गर्न नसकेको जनाएको छ ।  

यसैबिच वर्षासँगै आएको पहिरोका कारण जिरोकिली मेलम्ची सडक खण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ६ बजेको समयमा जिल्लाको पाँचखाल नगरपालिका ४ फेदीस्थित जिरो किलो मेलम्ची सडक खण्डमा  सड्क भन्दा माथि बाट पहिरो आई जिरो किलो मेलम्ची सडक खण्डको सडक समेत पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अवरुद्ध सडक खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय गरिएको बताउनुभयो ।