• ९ भदौ २०८१, आइतबार

संसदीय समितिमा लामिछानेको बयान, सहकारी अपचलनको दोष राईतर्फ

blog

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले चार वटै सहकारीको बचत रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिनुभएको छ । उहाँले त्यसको सबै दोष गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) तर्फ देखाउनुभयो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग गरेको सोधपुछमा उहाँले आफू जिम्मेवारीमा रहँदा कुनै पनि सहकारीमा निवेदन दिएर ऋण नलिएको दाबी गर्नुभएको हो । 

उहाँलाई समितिले ५१ वटा प्रश्न सोधेको छ । उहाँसँग शुक्रबार अपराह्नमा ३:३० देखि राति १:०५ सम्म सोधपुछ गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीबाट गोर्खा मिडियामा २८ करोड रुपियाँभन्दा बढी रकम सिधै प्रवाह भएको देखिएको छ । उहाँका अनुसार लामिछानेसँग सोही विषयमा केन्द्रित भएर सोधपुछ भएको छ । 

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) फरार रहँदा अन्य सञ्चालकसँग समितिले बयान लिएको हो । अध्यक्ष राईसहितले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था काठमाडौँ, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवल र सहारा बचत तथा ऋण सहकारी संस्था चितवनबाट ऋण लिएर अपचलन गरेको उजुरी परेको छ । 

समितिमा बयान दिएपछि सभापति लामिछानेले चारै सहकारीबाट गोर्खा मिडिया प्रालिमा भएको लगानी, आफ्नो खातामा आएको रकम र सम्पूर्ण आर्थिक कार्यमा आफू संलग्न नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मैले कुनै सहकारीमा निवेदन हालेर ऋण मागेको छैन ।”

उहाँले सहकारीका समस्या समाधान गर्न प्रतिवेदन फलदायी हुने बताउँदै आफूसँगै सबै सहकारीपीडितलाई न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा पनि मैले निवेदन दिएको भन्ने कुरा उठेको थियो । प्रमाण छ कि भनेर समितिमा सोधेँ । म प्रस्ट पार्न चाहन्छु, सहकारीबाट एक पैसा पनि ऋण लिएको छैन ।” 

गोर्खा मिडिया सञ्चालनमै रहँदा उहाँले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभयो । समितिले गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडेलाई पनि शुक्रबारै सोधपुछ गरेको छ । 

सहकारी र अन्य बैङ्क खाताबाट सभापति लामिछानेको खातामा आएको रकमका सन्दर्भमा समितिले प्रश्न गरेको छ । सातै सहकारी संस्थाबाटै गोर्खा मिडियाका तत्कालीन कर्मचारी विपिनकुमार आचार्यको नाममा आएको रकमका सन्दर्भमा र कुन कुन प्रयोजनमा रकम लिएको भन्ने सन्दर्भमा पनि समितिले उहाँसँग सोधपुछ गरेको छ । उहाँलाई व्यक्तिका नाममा कम्पनी दर्ता गरी सहकारीबाट दुई करोड ५० लाख रुपियाँ ऋण लिएको सन्दर्भमा पनि समितिले सोधपुछ गरेको छ । 

राईलाई ल्याउन आग्रह

सभापति थापाले गोर्खा मिडियाका अध्यक्ष जिबी राईसहित २३ जनालाई छानबिन समितिको दायरालाई ल्याइदिन गृहमन्त्री र प्रहरी नेतृत्वसँग आग्रह गरेको बताउनुभयो । 

उहाँका अनुसार जेलभित्रबाटै २० जनालाई समितिमा ल्याएर सोधपुछ गरिएको छ । समितिले साउन २५ गतेदेखि सोधपुछ र छलफल जारी राखेको छ । समितिले सहकारीका बचतकर्ता, सञ्चालक, पीडित, आन्दोलनसहित सरोकारवालासँग छलफल गरेको छ । 

सभापति थापाले सहकारी क्षेत्रको आर्थिक अपचलनमा गोर्खा मिडियाकै अध्यक्ष राई जस्ता धेरै पात्र रहेको बताउनुभयो । उहाँले यीसँगै सहकारीले भोगेका समस्या र समाधान गर्ने, सहकारीपीडितले सडकमा गरिरहेको आन्दोलनसहित सबै विषय समेटेर उन्नत, वस्तुपरक र समाधान हुने गरी प्रतिवेदन दिने प्रस्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “समितिले ५० जनासँग सोधपुछ गरेको छ । उहाँ (रवि लामिछाने) ले सबै प्रश्नको उत्तर दिनुभयो । जिबी राईलगायतका फरार व्यक्तिका सन्दर्भ राज्यले के गर्नु पर्छ र समाधानमा कसरी संलग्न गराउनु पर्छ भन्ने विषयमा पनि उहाँले सुझाव दिनुभएको छ ।”