• ९ भदौ २०८१, आइतबार

तनहुँ बस दुर्घटना : १६ शवको पोष्टमार्टम, आजै महाराष्ट्र पठाइने

blog

वसन्त पराजुली
नारायणगढ, भदौ ८ गते । 
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पतालका फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरूको टोलीले शवको पोष्टमार्टम गरिरहेको जानकारी दिनुभयो । बाँकी शवको पनि आजै पोष्टमार्टम गरेर सबै शवलाई भारतको महाराष्ट्र पठाइने तयारी भइरहेको छ ।

शव लिन भारतबाट सिधै विशेष विमान भरतपुर विमान स्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विमान शनिबार दिउँसो ३ः३० बजे भरतपुर विमानस्थल आइपुग्ने छ ।

शुक्रबार आँबुखैरेनीमा भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो । मृतक मध्ये सबै भारत महाराष्ट्रका भएकाले उनीहरूको शव भारत नै पठाउन लागिएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा दुर्घटना भएको हो ।

मृतकहरूको शवलाई शुक्रबार राति नै भरतपुर अस्पताल ल्याइएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।