• ११ मंसिर २०८१, मङ्गलबार

विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ ८ गते । डिभिजन वन कार्यालय गुल्मीले विभिन्न प्रजातिका १७ वन्यजन्तुको उद्धार गरेको छ । पछिल्लो दुई वर्षको अवधिमा मृत र घाइते अवस्थामा विभिन्न स्थानमा अप्ठ्यारोमा परेका विभिन्न प्रजातिका १७ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी एवम् वन अधिकृत राजन कुँवरले जानकारी दिनुभयो ।

वन अधिकृत कुँवरका अनुसार दुई वर्षमा विभिन्न प्रजातिका चार वटा वन्यजन्तु मृत र १३ वटा वन्यजन्तु घाइते अवस्थामा फेला परेका छन् । घाइते अवस्थामा विभिन्न स्थानमा फेला परेका केही वन्यजन्तुको उपचारका क्रममा मृत्यु हुनेगरेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले पछिल्लो दुई वर्षमा रतुवा, नीर बिरालो, चितुवा, गिद्ध, हुँडार, कमन कोब्रा र किङ कोब्रा लगायतका विभिन्न सात प्रजातिका वन्यजन्तुको उद्धार गरेको छ ।

आर्थिक वर्ष २०७९–८० मा विभिन्न चार प्रजातिका १२ वटा वन्यजन्तुको उद्धार गरेको छ । जसमा चार वटा रतुवा घाइते, एक घाइते र एक मृत अवस्थामा नीर बिरालो, दुई वटा मृत र तीन वटा घाइते चितुवा र एक वटा घाइते गिद्धको उद्धार गरिएको हो । घाइते उद्धार गरिएकामध्ये उपचारको क्रममा एक वटा रतुवा र एक वटा चितुवाको मृत्यु भएको छ । 

गत आर्थिक वर्ष २०८०–८१ मा विभिन्न चार प्रजातिका पाँच वटा वन्यजन्तुको उद्धार गरिएको छ । जसमा दुई वटा चितुवा घाइते, एक हुँडार मृत, एक वटा कमन कोब्रा र एक वटा किङ कोब्रा घाइते अवस्थामा उद्धार गरिएको हो । 

उद्धार गरिएका घाइते वन्यजन्तुलाई औषधी उपचारपश्चात् पूर्णरुपमा निको बनाइ विभिन्न राष्ट्रिय वनमा छाडिएको छ । मृत अवस्था फेला परेका वन्यजन्तु र उपचारको क्रममा मृत्यु भएका वन्यजन्तुलाई कार्यालय परिसरको कम्पाउण्डमा गाडिएको डिभिजन वन कार्यालयले जनाएको छ ।